सप्तरी । नेपाल सरकारले महिलासँग विभेद गरेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । उनीहरुले तीजका लागि सार्वजनिक विदा दिने गरेपनि जितिया पर्वका दिन विदा नदिइ विभेद गरेको बताए ।
सप्तरीका महिला पत्रकारहरुले बुधबार आयोजना गरेको जितिया महोत्सव कार्यक्रमका सहभागीहरुले नेपाल सरकारबाटै जितिया पर्वको पनि सार्वजनिक विदा दिइनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य ललिता साहले प्रदेश सरकारले जितिया पर्वमा सार्वजनिक विदा दिने गरिएपनि संघीय सरकारले ध्यान नदिएको बताइन् ।
आदिवासी जनजाती पत्रकार महासंघका जिल्ला अध्यक्ष प्रियासिंह थारुले तराई/मधेशका महिलाले परापूर्वकालदेखि मनाउँदै आएको जितिया पर्वको ठूलो महिमा हुने भएकाले यो दिन सार्वजनिक विदा दिनुपर्ने बताइन् ।
बोदे बर्साइन नगरपालिकाकी उपप्रमुख रंजु साह, लोसपा नेतृ पुनम यादव, सामाजिक अभियन्ता सुनिता साह, थारु महिला संघकी चन्द्रकला चौधरी, नेपाल पत्रकार महासंघ, सप्तरीका उपाध्यक्ष अम्बिका दाहाल, पूर्व अध्यक्षद्वय बिष्णु मण्डल र धिरेन्द्र साहसहितकाले पनि जितिया पर्वमा सार्वजनिक विदा दिनुपर्ने बताए ।
सन्तानको दिर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै महिलाहरुले यो जितिया पर्व मनाउने गर्छन् । एक दिन नहाई खाय गरेर अर्को दिन निराधार उपवास बसी जितमहान सम्बन्धी कथा सुन्ने चलन छ ।