औषधि पसलकोरोना खोपशहीदनगर नगरपालिका
फाइल तस्वीर

जनकपुरधाम । धनुषाको एक निजी औषधि पसलमा कोरोनाविरुद्धको खोप फेला परेको छ । शहीदनगर नगरपालिका–यदुकोहास्थित श्रीराम मेडिकलमा बिक्री गर्न राखेको कोरोना खोप फेला परेको हो ।

शहीदनगर नगरपालिकाको सुशासन समिति र प्रहरीले गरेको संयुक्त अनुगमनका क्रममा उक्त औषधि पसलबाट ४ थान भेरोसेल, १ थान जोन्सन एण्ड जोन्सन र १ थान अस्ट्राजेनेकाको खोप बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (डीएसपी) जितेन्द्र बस्नेतले जानकारी दिए ।

खोप फेला परेपछि श्रीराम मेडिकलका सञ्चालक कमलेश मण्डललाई पक्राउ गरेको उनले बताए । मण्डललाई पक्राउ गरेर सोधपुछ गर्दा उनले एक जना स्वास्थ्यकर्मीले नै बेच्न दिएको बताएपछि ती स्वास्थ्यकर्मीलाई पनि नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरियाले बताए ।

‘हामीले म्याद गुज्रेका औषधि हेर्ने बहानामा तीनवटा औषधि पसलमा अनुगमन गर्‍यौं,’ उनले भने, ‘कोरोनाविरुद्वको खोप बेच्न राखेको पूर्व सूचनाको आधारमा हेर्दा मण्डलको पसलमा फेला परेको हो ।’

फेला परेकामध्ये भेरोसेलका १ भाइल तथा अस्ट्राजेनेकाको भाइल खुलेको पाइएको उनको भनाइ छ ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय यदुकोहामा राखिएको र थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!