सिरहा । सिरहाको मुख्य भन्सार नाका माडरमा लक्ष्य अनुसारको राजश्व असुलीमा कमी आएको छ । तस्करी फस्टाएसँगै राजश्व लक्ष्य अनुसार असुली भईरहेको छैन् ।
कार्यालय प्रमुख फेरिएसँगै लक्ष्य अनुसारको असुली पनि रोकिएको छ । माडर भन्सार कार्यालयले गत सात महिनामा लक्ष्य अनुसारको राजश्व असली गर्न सकिरहेको छैन् । खुला सीमा र स्थानीय प्रहरीसँगको सेटिङका कारणले तस्करी फस्टाएपछि राजश्व लक्ष्य अनुसार असुली हुन सकेको छैन् । गत माघदेखि राजश्व असुली घट्दो क्रममा छ । माडर भन्सार कार्यालयको तथ्यांक अनुसार माघमा ०, फागुन ५, चैत ९५, वैशाख ५८, जेष्ठ १९, असार ४०, साउन ७० र भदौं २७ सम्म लक्ष्यको ७ प्रतिशत मात्र राजश्व असुली गरेको छ ।
भन्सार छलेर लत्ताकपडा आयत र मदिरा–मटर भारत निर्यात
भारतसँग सिरहा जिल्लाको करिब ४० किलोमीटर खुलासीमा छ । बोर्डर र मुख्य नाकाहरुमा सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट र नेपाल प्रहरीको युनिटहरु रहेको छ । तस्करहरु स्थानीय प्रहरीसँगको समन्वय गरी भन्सार छलेर लत्ताकपडा, स्पेयर पार्टस् जस्ता समान ल्याउदै आएका छन् । साईकल, मोटरसाईकलमा तस्करहरुको समूहले विभिन्न रुट प्रयोग गरी स्थानीय सशस्त्र प्रहरी र नेपाल प्रहरीको समन्वयमै तस्करीका समान सदरमुकाम सिरहा, गोलबजार, लहान लगायतका बजार क्षेत्रमा पुर्याउँदै आएका छन् ।
नेपालबाट मदिरा र मटर भारत भन्सार छलेर पुर्याउने गरेका छन् । सिरहको माडर, बरियारपट्टी, भगवानपुरमा मदिरा कारोबारको इजाजत पाएकाहरुले स्थानीय प्रहरीसँग समन्वय गरी मदिराको अवैध निर्यात गरिरहेको छ ।
राजश्व असुली घट्दै माडर भन्सार कार्यालयको पछिल्लो तीन वर्षमा राजश्व असुली उचारचढाव देखिन्छ । २०७५/०७६ मा लक्ष्यको १४४ प्रतिशत राजश्व असुली गरेको माडर भन्सार कार्यालयले आर्थिक वर्ष २०७६/०७७ मा ७ प्रतिशतमा झरेको थियो । गत आर्थिक वर्षमा लक्ष्यको ८ प्रतिशत अर्थात १० प्रतिशत राजश्व असुली मात्र गरेको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा माडर भन्सार कार्यालयले लक्ष्यको ७ प्रतिशत रकम असुली गरेको थियो । उक्त आर्थिक वर्षमा २० करोड ३० लाख ८ हजार राजश्व असुलीको लक्ष्य भएपनि ८७ प्रतिशत अर्थात १७ करोड ७३ लाख ४० हजार रुपैयाँ मात्र असुली गर्न सकेको छ । यस्तै गत आर्थिक वर्ष ०७७/७८ मा वार्षिक लक्ष्य १९ करोड ३० लाख ९५ हजारमध्ये झिनो वढी अर्थात १०८ प्रतिशत (२० करोड ९३ लाख ९३ हजार रुपैयाँ असुली गरेको थियो ।
चालू आर्थिक वर्ष २०७८/०७९ मा माडर भन्सार कार्यालयलाई २३ करोड ५९ लाख ६८ हजारको लक्ष्य दिईएपनि करिब २ महिनामा ७ प्रतिशत (१ करोड ५९ लाख ९६ हजार) मात्र राजश्व असुली गरेको छ ।
त्यस अघि आर्थिक वर्ष २०७५/०७६ मा वार्षिक लक्ष्य १० करोड ७८ लाख २४ हजार भएपनि १४४ प्रतिशत अर्थात १५ करोड ४९ लाख ९० हजार राजश्व असुली गरेको थियो ।
माडर भन्सार कार्यालय सिरहाका निमित्त प्रमुख जगदिश पूर्वेले आफूहरुसँग प्रयाप्त कर्मचारी र हातहतियार नहुँदा अवैध तस्करी रोक्न कठिन भएको बताएका छन् । ‘गाउँका गाउँ नै तस्करीमा लागेका छन्,’ निमित्त प्रमुख पूर्वेले भने,‘हाम्रो बलबुतोले भ्याउँदैन् । हामीलाई वन कार्यालयजस्तै गस्ती गर्न हतियार सहितको जनशक्ति आवश्यक छ ।’
गस्तीमा निस्केको बेला तस्करहरुले बाईक लडाएर भागेको दुःखेसो व्यक्त गर्दै निमित्त प्रमुख पूर्वेले तस्करी रोक्न सुरक्षाकर्मीको पनि ठूलो भूमिका रहेको बताएका छन् ।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेंलले भन्सार छली रोक्न प्रहरी सक्रियता पूर्वक काम गरिरहेको दावी गरेका छन् । ठूला सवारी साधनमा विगतमा हुँदै आएको तस्करी अहिले बन्द रहेको भन्दै प्रजिअ कणेंलले खुला सीमा भएकोले सुरक्षाकर्मीको आँखा छलेर कसैकसैले साईकलहरुमा केही समानहरु ल्याएको हुन सक्ने बताएका छन् ।