
काठमाडौं । धनुषाको जनकपुर प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ। बिहीबार दिउँसो ३ बजेतिर ‘अज्ञात’ समूहले अहेब देवेन्द्र ठाकुरमाथि कुटपिट गरेको हो।
कुटपिटको यकिन कारण भने पत्ता लागेको छैन। ‘किन कुटपिट भयो भन्ने यकिन कारण त हामीलाई थाहा भएको छैन। तर, बिरामीको उपचार या अस्पतालसँगको विषयलाई लिएर भएको घटना भने होइन,’ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा प्रमोद यादवले भने।

ती व्यक्तिको कुटपिटबाट अहेब ठाकुर घाइते भएका छन्। उनले कुटपिट गर्ने व्यक्तिहरुविरुद्ध हालसम्म उजुरी नदिएको मेसु यादवले जानकारी दिए। यसअघि दुई दिन अगाडि पनि अस्पतालको एक जना चालकमाथि कुटपिट भएको थियो।
कारण जे भएपनि अस्पतालभित्र स्वास्थ्यकर्मीमाथि कुटपिट हुनु दुखको कुरा भएको मेसु यादवको भनाइ छ। स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने व्यक्तिहरुलाई कडा कारबाही गरिनुपर्ने उनले बताए। दोषीलाई कारबाही नभएसम्म ढुक्कसँग काम गर्ने वातावरण नहुने उनको डा यादवको छ।
‘हामी नै सुरक्षित हुँदैनौ भने बिरामीको उपचार कसरी गर्ने? कुन व्यक्ति उपचार गर्न आएको हो या कुटपिट गर्न भनेर कसरी पहिचान गर्ने ? स्वास्थ्यकर्मीको मनमा यो डर त सधैं नै हुन्छ,’ उनले भने।