अपन दैनिक ब्यूरो/सिरहा । लगातारको वर्षाले सिरहा जिल्लाको ग्रामीण वस्तीहरु डुवानमा परेका छन् । अत्याधिक वर्षा भईरहँदा पानीको निकास नहुँदा घरहरु डुवानमा पर्न थालेको छ । वर्षाको पानीका कारण जिल्लाभरी सर्वसाधारणका सयौं घरहरु र सरकारी कार्यालयहरुमा पानी जमेर डुवानको अवस्था सृजना भएको छ ।
गोलबजार नगरपालिका १२ वेतौनाका करिब एक दर्जन वढी घर डुवानमा परेको छ । घर डुबानमा परेपछि स्थानीयहरु छिमेकीहरुको घरमा शरण लिन बाध्य भएको स्थानीय मिन्थुन मण्डलले बताएका छन् । लगातारको वर्षा र डुवानका कारणले माटोका घरहरु भत्किन थालेको मण्डलले बताए ।
यता गोलबजार नगरपालिका ९ मा २ वटा घर र सिरहाकै धनगढीमाई नगरपालिका ६ मा एउटा घर भत्किएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेंलले बताएका छन् ।
मिर्चैयामा पूर्व-पश्चिम राजमार्ग डुवानमा
यता पूर्व-पश्चिम राजमार्ग अन्र्तगत मिर्चैयाको सडक डुवानमा परेको छ । अत्याधिक वहाव र लगातारको वर्षाले गर्दा मिर्चैया बजारको दर्जनौ पसलहरु पानी जमेर जलमग्न अवस्था सृजना भएको छ । पूर्वपश्चिम राजमार्ग देखि उत्तरको पानीको उचित निकास नहुदा बजार डुवानमा पर्ने गरेको स्थानीयवासीले जनाएका छन् । घर, पसल र गोदाममा पानी दुई फिटसम्म जमेपछि करौडौंको सरसमानमा क्षति पुगेको स्थानीय व्यवसायीहरुको भनाई छ ।
अपन दैनिक संवाददाता अमर कुसैतका अनुसार चुरेक्षेत्रवाट वगेर आउने पानीको उचित निकास नहुँदा मुख्य सडक भएर पानी बग्ने गरेको जनाएको छ । सडकमा पानी करिब दुई फिटजति देखिएपछि सवारीसाधन आवतजावतमा समेत कठिनाईको सृजना भएको उनले बताए ।
मिर्चैया नगरपालिकाको साझेदारीमा करिब ४० करोडको लागतमा भूमिगत ढल निकासको काम भईरहेको छ । निर्माण कार्यमा ढिलाई हुँदा मिर्चैया नगरपालिकाका स्थानीयलाई व्यापक सास्ती भोग्नु परेको छ । मुख्य सडकमा ठूलठूला खाल्डाखुल्डी भएको छ । पूर्वपश्चिम राजमार्ग सडक डिभिजन मातहत भएपछि मिर्चैया नगरपालिका पंछिदै गएपछि सडकमा खाल्डाखुल्डी र यात्रा गर्नेलाई जोखिम थपिदै गएको छ ।
यता सडक डिभिजन कार्यालय लहानले पनि मिर्चैया, सिरहा–चोहर्वा सडक खण्डमा सडक खाल्डाखुल्डी भएपछि समयमै मर्मत कार्य नगर्दा दुर्घटनाको जोखिमहरु बढ्दै गएको विष्णुपुरका स्थानीय अशोक यादवले बताएका छन् ।
कमला नदीमा फसेकालाई उद्धार
लगातारका वर्षाका कारण कमला नदीमा आएको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले सिरहा नगरपालिका १७ पटेर्वास्थित कमला नदीको बाढीमा फसेका दुई जनाको उद्धार गरिएको छ ।
टोलीले सिरहा नगरपालिका १७ पर्टेवाका ६५ वर्षीय गुलाई यादव सहित दुई जनालाई उद्धार गरेको जनाएको छ ।
कमला नदीसँगै गागन, घुर्मी, बलान जस्ता नदीमा आएको वाढीले आसपासको क्षेत्रमा जोखिम वढेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले कमला नदी आसपासको सिरहा नगरपालिका, कल्याणपुर नगरपालिका र कर्जन्हा नगरपालिकाका स्थानीयहरुलाई सर्तक भएर बस्न आग्रह गरेको छ । वाढीको जोखिम उच्च भएकोले सर्तकता अपाउनु जरुरी भएको प्रजिअ कणेंलले बताएका छन् ।
कर्जन्हा नगरपालिकाको बन्दीपुरस्थित बाबातालमा बढ्ेको पानीले बाँधमा असर पुर्याएको छ । बाबातालको पानी उक्लिएर नजिकैको गाउँ पस्दा घरहरु डुबानमा परेको स्थानीयवासीले जनाएको छ । । जिल्लाको पर्यटकीय स्थल रहेको बाबातालको बाँध कटान रोक्न तथा मर्मत सम्भार गर्न नेपाली सेनाको टोली परिचालन गरिएको थियो । टोलीले बोरामा माटो हालेर बाँध मर्मत काम गरेको प्रजिअ कणेँलले बताएका छन् ।
सिरहा जिल्लाका ग्रामीण देखि मुख्य सडक खण्डमा लगातारको वर्षाले क्षति पुर्याएपछि सडक डिभिजन कार्यालय लगायतका कार्यालयलाई वर्षा रोकिएपछि सडक मर्मतमा तिव्रता दिनेगरी तयारी अवस्थामा रह्न प्रमुख जिल्ला अधिकारी कणेंलले निर्देशन दिई सकेको छ ।