सिरहा । आयुर्वेद माध्यमबाट सिरहा जिल्लामा उपचार गराउने संख्यामा वृद्धि भएको छ । जिल्ला सदरमुकाम सिरहामा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचार गराउन आउनेको संख्यामा उच्च गतिले वृद्धि भएको जनाएको छ । जटिबुटीबाट उत्पादन गरिएको औषधीहरुको प्रयोगले रोगीहरु निको हुने क्रम वढेपछि आयुर्वेद केन्द्रप्रति विश्वास बढेको छ ।

आर्युवेद केन्द्र सिरहामा गत आर्थिक वर्षको २०७७/०७८ मा ९ हजार ९ सय ९८ जना रोगीले उपचार गराएको छ । उपचारका क्रममा २० वर्षभन्दा माथि उमेर समूहका बिरामीहरुले वढी मात्रामा उपचार सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिरहाका प्रमुख डा. शिव नारायण प्रसाद गुप्ताले बताएका छन् । आर्थिक वर्ष २०७६/०७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/०७८मा करिब ८ हजार बढी बिरामीले सेवा लिएको डा गुप्ताले बताए ।
आर्थिक वर्ष २०७६/०७७ मा १ हजार ८ सय जनाले उपचार सेवा लिएको केन्द्रले जनाएको छ । साथै केन्द्रले सिरहाका विभिन्न तीन स्थानीय तहहरु बिष्णुपुर गाउँपालिका, भगवानपुर गाउँपालिका र बरियारपट्टी गाउँपालिकामा नागरिक आरोग्य केन्द्र समेत स्थापना गरेको छ । आयुर्वेद स्वास्थ्य केन्द्रमा चालु आर्थिक वर्ष २०७८/०७९ बाट नेपाल सरकारले निःशुल्क रूपमा दिएको २२ प्रकारका औषधि बाहेक ओपिडी टिकट, रस्ना सपतक क्वाथ चूर्ण, दशमुल क्वाथ चूर्ण, ज्वानो चूर्ण, जामुन बीज चूर्ण, पटोल कटुरोहिन्यादि कषाय चूर्ण दिदै आएको छ । त्यस्तै अन्निकर्म, जलौका वचरण, सिरावेध, पञ्चकर्म, पूर्वकर्म र क्षारसूत्रमा न्यूनतम शुल्क लिइ सेवा दिदै आएको प्रमुख डा. गुप्ताले बताएका छन् ।

कोभिड–१९ महामारीको समयमा पनि केन्द्रले निरन्तर सेवा दिँदै आइरहेको छ । सिरहामा निषेधाज्ञा भएपनि केन्द्रमा उपचार तथा परामर्श लिनेको संख्यामा कमी नआएको र कोरोना महामारीबाट मानिसमा आयुर्वेद उपचारमा चासो बढेको जनाएको छ । सेवा सुविधासँगै पर्याप्त जनशक्ति भएका कारण यस वर्ष उपचार गराउन आउनेको संख्या वृद्धि भएको प्रमुख डा. गुप्ताले बताएका छन् ।
केन्द्रले ज्येष्ठ नागरिक सेवा, स्तनपायी सेवा र धामी–झाँक्री लगायत स्वास्थ्य समस्या निवारणका कार्यक्रम गरिरहेको जनाएको छ । अन्निकर्म, जलौका वचरण, सिरावेध, पञ्चकर्म अन्तर्गत पूर्वकर्मसेवा तथा शिरोधारा स्वास्थ्य सेवा पनि सञ्चालनमा रहेको छ । आयुर्वेद औषधालयमा अहिले बालकदेखि वृद्धवृद्धासमेत उपचार गराउन आउने गरेका छन् ।

केन्द्रको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा सबैभन्दा बढी बिरामी पेट सम्बन्धी रोगका रहेका थिए । त्यसैगरी हाडजोर्नी, बबासिर (पाइल्स), भगन्दर, फिसर, श्वासप्रसास र महिला सम्बन्धी समस्या भएका रोगी पनि उपचारका लागि आएका थिए । केन्द्रको आव २०७७/०७८ मा आर्थिक प्रगति ७५.३६ प्रतिशत र भौतिक प्रगति ९१.६७ प्रतिशत रहेको जनाएको छ । ५६ लाख ५७ हजार बजेट प्राप्त भएकोमा कार्यालय व्यवस्थापन, कर्मचारी तलब खर्च र औषधि खरिदमा बजेट खर्च भएको प्रमुख डा. गुप्ताले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!