सिरहा । सिरहा जिल्लामा लामो समयदेखि कर नबुझाएका ४० करदातामाथि आन्तरिक राजस्व कार्यालय लहानले कानूनी कारवाही अघि बढाएको छ । दर्ता भएर पनि कर नबुझाउने ४० करदातामाथि कानूनी कारवाहीस्वरूप कारोबार, बैंक खाता र चलअचल सम्पत्ति रोक्का गरिएको कार्यालयका प्रमुख रामप्रसाद खतिवडाले जानकारी दिएका छन् ।
पाँच लाख रुपैयाँसम्म कर बक्यौता राखेका ७५ करदातामाथि कानुनी कारबाही अघि बढाइएकामा आर्थिक वर्ष २०७७/०७८ मा ३५ जना करदाताबाट पाँच करोड रुपैयाँभन्दा बढी बक्यौता असुली भएको प्रमुख खतिवडाले बताए । मूल्य अभिवृद्धि कर, आयकर तथा अन्तःशुल्कतर्फ दर्ता भएयता कर नबुझाएका ४० करदातामाथि कानूनी कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख खतिवडाको भनाइ छ ।
यसैबीच कोभिड–१९ को संक्रमण र जनशक्तिको अभावका बाबजुद कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको कार्यालयले जनाएको छ ।
तत्कालीन सगरमाथा अञ्चलको ६ वटा जिल्लामा कार्यक्षेत्र रहेको कार्यालयले आव २०७७/०७८ मा ३ अर्ब ६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसमध्ये करिब १०८ प्रतिशत अर्थात ३ अर्ब ३१ करोड राजस्व संकलन भएको प्रमुख खतिवडाले बताएका छन् । आव २०७७/०७८ मा आयकरतर्फ १ अर्ब ६३ करोड, मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ८ करोड र अन्तःशुल्कतर्फ ५९ करोड ८ लाख राजस्व संकलन भएको कार्यालयले जनाएको छ । यो गत आर्थिक आर्थिक वर्षको तुलनामा १७ प्रतिशत बढी राजस्व सकलन भएको छ ।
गत आव २०७६/०७७ मा ३ अर्ब ४५ करोड राजस्व संलनको लक्ष्य लिएकामा करिब १ प्रतिशत अर्थात २ अर्ब ८१ करोड राजस्व संकलन भएको थियो । कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १२ हजार ४२ व्यवसायी र २० हजार ८४४ व्यक्तिगत नयाँ प्यान दर्ता भएको जनाएको छ । आर्थिक वर्ष २०७७/०७८ मा करदाता शिक्षा कार्यक्रम अन्तर्गत ६ वटै जिल्लामा आर्थिक ऐन, २०७७/०७८ ले प्रदान गरेको कर सम्बन्धी छुट तथा सुविधाबारे सचेतना कार्यक्रम सञ्चालन गरेपछि जनशक्ति अभाव र कोभिड–१९ को संक्रमणका बाबजुद राजस्व संकलनमा वृद्धि भएको प्रमुख खतिवडाको भनाइ छ ।
कार्यालयमा ६ जना कर अधिकृतको दरबन्दीमा ४ जना र १० जना नायब सुब्बाको दरबन्दीमा ३ जना कर्मचारी मात्र कार्यरत रहँदा कार्यालयको कामकाज प्रभावित हुँदै आएको जनाइएको छ । दरबन्दी अनुसारको कर्मचारी पठाइदिन पटकपटक आग्रह गर्दै आए पनि अझै कर्मचारी नपठाउँदा समस्या भइरहेको प्रमुख खतिवडाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!