एसिडधनुषा
फाइल तस्बिर

जनकपुर । सञ्जीव साह र आरतीको ५ वर्षअघि विवाह भएको थियो । बिहेको दुई वर्षपछि उनीहरू छुट्टाछुट्टै डेरा लिएर बस्न थालेका थिए । छोरीलाई आफूसँगै राखेकी आरती तरकारी बेचेर गुजारा चलाउँथिन् । छुट्टिएर जनकपुरधाम–७ पेठिया बस्दै आएकी आरती र ४ वर्षीया छोरी रियामाथि गत कात्तिक २९ को बिहान एकाएक आक्रमण गर्न पुगे सञ्जीव, एसिड लिएर ।

एसिड आक्रमणले दाहिने आँखा नै गुमाएकी २२ वर्षीया आरती अहिले काठमाडौंमा उपचाररत छिन् । उनको कृत्रिम आँखा लगाउने तयारी छ । उनको अनुहारको दायाँ भाग, आँखा, छाती र हात जलेको थियो । रियाको भने बायाँ हात जलेको छ । उनै सञ्जीवलाई सोमबार धनुषा जिल्ला अदालतले कसुरदार ठहर गरेको छ, जो पुर्पक्षका लागि कारागारमै छन् ।

एसिड विक्रेता नागेन्द्र साहले भने सफाइ पाएका छन्, जसलाई थुनछेक बहसपछि धरौटीमा छाडिएको थियो । न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले सोमबार सजाय निर्धारणका लागि पेस गर्न आदेश गरेको हो । तर सञ्जीवलाई कैद सजाय, जरिवाना र क्षतिपूर्ति भने एक महिनाभित्र तोकिनेछ । कैद सजाय र क्षतिपूर्तिका लागि अर्को फैसला आउने अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले बताए । ‘सञ्जीवले कसुर गरेको अदालतले ठहर गरेको छ,’ मिश्रले भने, ‘उनलाई तोकिने कैद सजाय, जरिवाना र क्षतिपूर्ति भने एक महिनाभित्रै इजलास बसेर फैसला सुनाइनेछ ।’

कसुर निर्धारण सजाय ऐन २०७४ बमोजिम कसुर ठहर गरिएको हकमा एक महिनाभित्र सजाय निर्धारण हुने प्रावधान छ । ‘सजाय तोक्न फेरि इजलास बस्नेछ । दुवैतर्फका कानुन व्यवसायीले आफ्नो पक्ष राखेपछि मात्रै सजाय तोकिनेछ,’ उनले भने ।

सञ्जीव एसिड प्रहार गरेकै दिन पक्राउ परेका थिए । नागेन्द्रलाई प्रहरीले घटनाको भोलिपल्ट ५८ बोतल एसिडसहित नियन्त्रणमा लिएको थियो । एसिड बिक्रीको अनुमति नलिएका उनले भण्डारन तथा बेचबिखन गरिरहेको प्रहरी अनुसन्धानमा फेला पारेको थियो ।

उनको पसलबाट बियरको बोतलमा राखेर कार्टॅनमा प्याक गरिएको ४८ बोतल र खोलिएको कार्टुनबाट १० गरी ५८ बोतलमा साढे ४३ लिटर एसिड बरामद भएको थियो । जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालका अनुसार नागेन्द्रलाई मतियार भनेर मुद्दा चलाइए पनि सजाय बराबरी माग दाबी गरिएको थियो । ‘उनले सफाइ पाएकोमा हाम्रो चित्त बुझेको छैन, फैसलाको जानकारी आएपछि उनको हकमामुद्दा पुनरावेदन गर्नेछौं,’ अर्यालले भने ।

दुवै जनाविरुद्ध अंगभंग, कुरूप र एकीकृत कसुरसहित ३ वटा मुद्दा दर्ता गरिएको थियो । मुलुकी ऐन, कानुन र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेशअनुसार दुवैविरुद्ध तीनवटै मुद्दामा १५ वर्ष ६ महिना कैद सजाय र क्षतिपूर्ति माग गरिएको थियो । गत वर्ष मात्र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश ल्याइएको थियो ।

आरतीका तर्फबाट सरकारी वकिल कार्यालय जनकपुरका प्रमुख अर्याल, रिंकुकुमारी यादव र अच्युतम आचार्यले बहस गरेका थिए भने प्रतिवादीका तर्फबाट कानुन व्यवसायी सुदीप कोइराला, दीपक केसी र अरुणकुमार झा थिए । आरतीको उपचार र कानुनी लडाइँमा अभियन्ता उज्ज्वलविक्रम थापाले सघाइरहेका छन् । –कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!