आशिक झाएमबीबीएसछनोट

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षामा धनुषाका आशिक झा सर्वोत्कृष्ट बनेका छन् । शुक्रबार सार्वजनिक भएको नतिजाअनुसार २ सय पूर्णांकमा झाले १ सय ८६ अंक प्राप्त गरेका छन् । उत्कृष्ट अंक हासिल गरेसँगै झाले चिकित्सा शिक्षा अध्ययनका निम्ति सरकारले प्रदान गर्ने पूर्ण छात्रवृत्ति पाएका छन् ।

No photo description available.

देशभरिबाट ११ हजार प्रतिस्पर्धीलाई उछिन्दै झा सर्वोत्कृष्ट बनेका हुन् । आयोगले पहिलो पटक एमबीबीएसका निम्ति एकीकृत परीक्षा लिएको हो । यसअघि विश्वविद्यालयपिच्छे फरक–फरक परीक्षा लिइन्थ्यो । त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयबाट विज्ञान विषय कक्षा ११ र १२ लिएर पढेका झाले २०७७ सालको ब्याचमा उत्कृष्ट अंक लिएर उत्तीर्ण गरेका थिए । त्यसलगत्तै एमबीबएीस अध्ययनका निम्ति लिइएको प्रवेश परीक्षामा पहिलो पटकमै उत्कृष्ट बनेका हुन् । विद्यालयले झालाई शुक्रबार बधाई दिएको छ ।

साधारण कृषक परिवारमा जन्मिएका झाले जनकपुरको श्री माध्यमिक विद्यालयबाट ३ दशमलव ७ जीपीएसहित एसईई उत्तीर्ण गरेका थिए । ‘बुवा–आमा सामान्य कृषि पेसा गर्नु हुन्छ,’ उनले भने, ‘मेरो दाइ अम्बेश झा बीएएमएस पढ्दै हुनुहुन्छ । उहाँकै प्रेरणा र सहयोगले आज एमबीबीएस पढ्ने अवसरको ढोका खुलेको हो ।’

सर्वोत्कृष्ट हुन्छु भनेर नपढेको तर जसरी पनि राम्रो गर्छु भनेर पढेको आशिकको भनाइ छ । ‘पढ्नका निम्ति डेडिकेसन चाहिन्छ, मेहनत त गरिहालिन्छ,’ उनले भावी उद्देश्यबारे भने, ‘यो अवसरलाई म समाजका निम्ति केही योगदान गर्ने लक्ष्यमा बदल्न चाहन्छु ।’

विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले झा अत्यन्तै सिर्जनशील र मेहनती विद्यार्थी हुन् । उक्त विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी, कानुन र शिक्षाशास्त्रका गरी १ हजार ९ सय विद्यार्थी पढ्छन् । काठमाडौं महानगरपालिकामा रहेका उत्कृष्ट सामुदायिक विद्यालयमध्ये एक हो । कँडेलका अनुसार यस विद्यालयबाट गत वर्ष ८ जनाले एमबीबीएस अध्ययनका लागि छनोट भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!