सिरहा । सिरहाको औरही गाउँपालिकाले भण्डार गरेको गहुँको बीउ किसानले आफैं लिएर गएपछि पक्राउ परेका किसान मिथिलेश यादव रिहा भएका छन् । जिल्ला अदालत सिरहाले साधारण तारिखमा यादवलाई रिहा गरेको हो ।


औरही गाउँपालिका–३ करहर्वाका यादवमाथि जिल्ला प्रहरी कार्यालय सिरहामा आपराधिक उपद्रो मुद्दा दर्ता गरेको थियो । प्रहरीले पुस ६ मा पक्राउ गरेपछि डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन सुरू गरेको थियो । चार दिनदेखि सिरहामा आन्दोलन जारी राखेपछि स्थानीय प्रशासनले निषेधाज्ञासमेत जारी गरेको थियो । आन्दोलनका क्रममा पक्राउ परेका जनमत पार्टीका १८ कार्यकर्तालाई समेत प्रशासनले रिहा गर्न आदेश दिए । त्यस लगतै जिल्ला प्रहरी कार्यालय र मातहतको नियन्त्रणमा रहेको जनमत पार्टीका १८ जना कार्यकर्तालाई मंगलवार साँझ रिहा गरिएको छ ।


जिल्लाका विभिन्न ६ राजनीतिक दलले स्थानीय प्रशासनलाई शान्ति सुरक्षा कायम राख्न जनमत पार्टीका कार्यकर्तालाई रिहा गर्न आग्रह गरेका थिए । त्यससँगै किसानको समस्याहरु सम्बोधन गर्न पनि माग गरेका थिए । ६ राजनीतिक दलले संयुक्त विज्ञप्ती जारी गर्दै निषेधाज्ञा फिर्ता लिन स्थानीय प्रशासनसँग माग गरेका थिए ।
सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले राजनीति दलवाट भएको निर्णय, जिल्ला सुरक्षा समितिको वैठक लगायतको परामर्शपछि सिके राउत नेतृत्वको जनमत पार्टीका पक्राउ परेका कार्यकर्ता रिहा गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।



