सर्लाही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाँके जंगलमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु र एकजना घाइते भएका छन् ।
शनिबार राति करिब १० बजे घारिबथान जाने बाँके चौक नजिकै बर्दिवासबाट लालबन्दीतर्फ आउँदै गरेको ना ३४ प ७०२१ नम्बरको मोटरसाइकललाई नम्बर खुल्न नसकेको गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट मोटरसाइकलको पछाडि सवार सुर्खेत जिल्ला घर भई हाल लालबन्दीमा बसेर सेक्युरिटी गार्डको काम गर्दै आएका करिब ५६ वर्षीय भिम गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ ।

मोटरसाइकल चालक लालबन्दी नगरपालिका–३ का ४२ वर्षीय जितन चौधरी घाइते छन् । चौधरीको मोडेल अस्पताल लालबन्दीमा उपचार चलिरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न सवारीसाधनको खोजी तीव्र पारेको छ ।
यसैबीच, नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत शनिबार साँझ हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा साइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बाटो काट्ने क्रममा साइकलले ठक्कर दिँदा टाउकोमा चोट लागेर गम्भीर घाइते लक्ष्मीपुरकी ५५ वर्षीया सैफुल खातुनको उपचारका क्रममा राति प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । महिलालाई ठक्कर दिने साइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



