जनकपुरधाम । प्रदेश २ को नामकरणका लागि ‘जनक प्रदेश’ दर्ता गराएको नेकपा एमालेले ‘जानकी प्रदेश’ नाममा आफ्नो समर्थन जनाएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकमा नेकपा एमालेकी सांसद शारदादेवी थापाले जानकी प्रदेशमै आफूहरूको समर्थन रहेको जनाएकी छन् ।

पार्टी विभाजनअघि नेकपा एमालेको तर्फबाट प्रमोद कुमार यादवले ‘जानकी प्रदेश’ र शारदादेवी थापाले ‘जनक प्रदेश’ नाम दर्ता गराएकी थिइन् ।

प्रदेशसभा बैठकमा नेकपा एमालेकी सांसद शारदादेवी थापाले नेकपा एमालेले पनि जानकी प्रदेशमै समर्थन जनाउने बताइन् ।

उनले जानकी प्रदेशभन्दा उचित कुनै अर्को नाम नहुनेसमेत दाबी गरिन् । उनले भनिन्, ‘सुरुमा हामीले जानकी प्रदेश नै दर्ता गराएका थियौँ पछि नेकपा एकीकृत समाजवादी पार्टी जानकीमै अडेर बस्यो, हामीले जनक प्रदेश दर्ता गरायौँ । नेकपा एमाले पनि जानकी प्रदेशलाई नै समर्थन गर्छ ।’

थापाले जनककै नाममा जनकपुर नाम पर्न गएकाले जनकनन्दिनी जानकीको नाममा प्रदेशको नाम हुँदा आफूहरूका लागि त्योभन्दा बढी सौभाग्यको कुरा केही नहुने बताइन् ।

अन्तर्राष्ट्रिय स्तरमा चिनिने सबैभन्दा ठूलो संरचना माता जानकीकै मन्दिर रहेको र पर्यटक पनि यसैका लागि यहाँ आउने गरेकाले जानकी प्रदेश नै उचित नाम हुने बताइन् ।

प्रदेशसभा सदस्य थापाले मुख्यमन्त्री राउतले समेत प्रदेशमा छोरीहरूका लागि विभिन्न अभियान सञ्चालन गरेको तथा तिनीहरूको अधिकारका कुरा गर्ने गरेकाले पनि जानकी नाम सबैभन्दा बढी उचित हुने बताइन् । जानकी नाम नारीमैत्रीसमेत रहेको उनले बताइन् ।

थापाले १०४ जना सांसदलाई यस नाममा सर्थन जनाउन आग्रह गरिन् ।

एमालेकै सांसद किशोरी साह कमलले जानकी नामको उच्चारण र त्यसलाई हेर्ने दृष्टिकोणले नै परिवर्तन गरिरहेको बताए । उनले रामायण सर्किटअन्तर्गत जनकपुरधामलाई जोड्ने पनि कुरा भइरहेकाले प्रदेशको यस्तो नाम राख्दा सबैले विकासका लागि अगाडि आउने बताए ।

कमलले सत्तापक्षसँग समेत जानकी प्रदेश नाममै समर्थन जनाउन आग्रह गरे । उनले अहिले सरकार दुई तिहाइभन्दा बढी रहेको जानकारी दिँदै भने, ‘तपाईंहरू भागबन्डा, मन्त्रालयका बाँडफाँड र पैसा कमाउनका लागि एकता गर्नुभयो ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय