काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच नयाँ सरकार गठनका लागि ‘शक्ति बाँडफाँट’ गरेर जाने विषयमा लगातार छलफल भइरहेको छ ।

आम निर्वाचनले दिएको परिणामअनुसार पनि नयाँ सरकार गठनका विभिन्न विकल्प देखिएकाले एमालेले माओवादीसँग लगातार छलफल गरिरहेको छ ।

त्यसका लागि नेकपा एमालेका दोस्रो तहका नेताहरुले लगातार माओवादीका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् ।
माओवादीबाट भने वर्षमान पुनले वार्ता जारी राखेको उच्च स्रोत बताउँछ ।

चुनावलगत्तै नेकपा एमालेका नेता विष्णु पौडेलले दाहाल निवास पुगेर प्रचण्डसँग छलफल गरेका थिए ।

त्यसपछि रघुबीर महासेठ, सुवास नेम्वाङ र योगेश भट्टराईले पनि माओवादीका अध्यक्ष दाहाललाई खुमलटार पुगेर भेटेको स्रोतले जानकारी दियो ।

“राष्ट्रपति र सभामुख लिएर तीनवर्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेकपा एमालेका नेताहरु तयार हुनुभएको छ,” माओवादी उच्च स्रोतले बाह्रखरीसँग कुराकानी गर्दै भन्यो, “प्रचण्डले सकेसम्म यही गठबन्धन जोगाएर पहिलो चरणमै प्रधानमन्त्री हुनुपर्छ भन्नुभएको छ ।”

माओवादीले किन रोज्दैछ एमाले ?

नेकपा माओवादीका एक प्रभावशाली नेताका अनुसार माओवादीले एमाले रोज्नुको खास कारण छ । कांग्रेसभित्र देखिएको विवाद र चुनावी परिणाम ।

चुनावमा माओवादी उमेदवारलाई कांग्रेस कार्यकर्ताले मतदान नगरेको सो पार्टीको ठहर रहेको छ ।

“चुनावमा कांग्रेसका कार्यकर्ताले जति सहयोग गर्नुपर्ने हो त्यो गरेनन्,” ती नेताले भने, “एमालेसँग गठबन्धन गरेर चुनावमा जाँदा यस्तो समस्या भएको थिएन । भोट ट्रान्सफर भएको थियो ।”

त्यसका लागि पनि एमालेसँग पार्टी एकता नगरे पनि सहकार्य गर्दै जानुपर्ने र निषेधको राजनीति त्याग्नुपर्ने दबाब पार्टीभित्रैबाट प्रचण्डलाई परेको छ ।

अर्को कारण हो– कांग्रेसभित्रको आन्तरिक विवाद ।

कांग्रेसमा सभापति शेरबहादुर देउवा गठबन्धन जोगाउने, सकेसम्म माओवादीलाई पछिल्लो सरकारको नेतृत्व गर्न सहयोग गर्ने नभए यसैपल्ट दिन तयार छन् ।

तर कोइराला–गगन समूह त्यो मान्न तयार छैन ।

प्रचण्ड बन्न सक्छन् पहिलो प्रधानमन्त्री ? एमाले र माओवादीबाहेकको सरकार कति सम्भव छ ?

पार्टीभित्रैबाट जबर्जस्ती निर्णय गरे पनि सरकार गठन हुनासाथ सो समूहले असहयोग गर्ने र आलोचना गर्ने जोखिम बढी भएको कारणले पनि माओवादीलाई एमालेसँगको सहकार्य सहज हुने ती नेताको टिप्पणी छ ।

नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनमा पराजय बेहोरेलगत्तै महामन्त्री गगन थापाले गठबन्धनजस्तो महत्वपूर्ण निर्णय पार्टीको अँध्यारो कोठामा बसेर गरिए मान्य नहुने चेतावनी दिएका थिए ।

“हामीलाई सरकारको नेतृत्व दिन कांग्रेसमा विरोध छ,” ती नेताले भने, “एमालेले राष्ट्रपति र सभामुख राखेर प्रधानमन्त्री हामीलाई दिन तयार भएको छ । यस्तो अवस्थामा कस्तो निर्णय गर्ने भन्ने अधिकार प्रचण्डमै छ । निर्णय उहाँले गर्नुहोला तर कांग्रेसलाई प्रधानमन्त्री माओवादीलाई दियो भने पनि त्यो सरकारको विरोध कांग्रेसभित्रैबाट बढी हुन्छ भन्ने डर चाहिँ छ । एमालेले तीनवर्ष सरकार चलाउन दिने प्रस्ताव पनि यहीबेला लगातार गरिरहेको छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय