काठमाडाैं । नेकपा एमाले समानुपातिक सांसदको सूची सच्याउन आन्तरिक छलफलमा जुटेको छ । निर्वाचन आयोगले आज दिउँसो ४ बजेसम्मको समय दिएपछि अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलसहितका नेताहरू छलफलमा जुटेका हुन् । एमाले निर्वाचन विभागका सचिव निरज आचार्यले नामका विषयमा छलफल भइरहेको बताए ।
एमालेले प्रदेश १ मा आदिवासी जनजाति समूहतर्फको अल्पसङ्ख्यक समूहको प्राथमिकता क्रम नम्बर २ मा समावेश भएको उम्मेदवारको नाम सिफारिस नगरी प्राथमिकता क्रम नम्बर ३ मा समावेश भएको उम्मेदवारको नाम सिफारिस गरेको छ । प्राथमिकताक्रम बमोजिम माथिल्लो क्रमको उम्मेदवारको नाम सिफारिस गर्न आयोगले भनेको छ ।

त्यसैगरी, मधेस प्रदेशमा एमालेले अल्पसङ्ख्यक समूहबाट न्यूनतम दुई जनाको नाम सिफारिस हुनुपर्नेमा दलले पेस गरे बमोजिम आयोगबाट स्वीकृत भएको अन्तिम बन्दसूचीमा अल्पसङ्ख्यक समूहमा सूचीकृत एक जनाको नाम मात्र सिफारिस गरेको र अन्तिम बन्दसूचीमा अल्पसङ्ख्यक समूहमा सूचिकृत नभएको उम्मेदवारको नाम अल्पसङ्ख्यक समूहका रूपमा पेस गरेकाले अन्तिम बन्दसूचीमा अल्पसङ्ख्यक समूहको रूपमा सूचिकृत दुई जना उम्मेदवारको नाम सिफारिस गर्न एमालेलाई आयोगले भनेको छ ।
मधेस प्रदेशमै एमालेले मुस्लिम समूहबाट एक जना सिफारिस गर्नुपर्नेमा प्राथमिकता क्रम नम्बर १ को उम्मेदवारको नाम सिफारिस नगरी प्राथमिकता क्रम नम्बर २ को उम्मेदवारको नाम आएकाले प्राथमिकता क्रम नम्बर १ को महिला उम्मेदवारको नाम सिफारिस गर्न आयोगले भनेको छ ।
बन्दसूचीमा मुस्लिमको क्लस्टरमा १ नम्बरमा जैनब खातुनको नाम छ । तर, दोस्रो नम्बरमा रहेको नाजिमा खातुनलाई राखेको छ । नाम पेस गर्नुअघि एमालेले जैनब खातुनलाई कारबाही गरेको थियो । उनी प्रभु साहनिकट रहेको भन्दै उनको सट्टा नाजिमालाई राखेको हो ।
निर्वाचन आयोगले समानुपातिक सांसदको नाम सच्याउन दलहरूलाई पत्राचार गरेको छ । शनिबार बन्दसूचीबाट सांसदका लागि पेस भएका नाम क्लस्टर र क्रम अनुसार नभएपछि आयोगले सच्याउन समय दिएको हो ।



