डलर अर्बपति विनोद चौधरीले आज प्रतिनिधि सभा निर्वाचनको निम्ति उम्मेदवारी दर्ता गराएका छन् । उनले नवलपरासी १ बाट मनोनयन दर्ता गराएका हुन् ।
उम्मेदवार दर्ता गराएको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेपछि सिंह विजय कुमारले निकै ठूलो अर्थ राख्ने प्रश्न तेर्साएका छन् । उनले लेखेका छन्, ‘अरब,खरब ठूलो कि स्पष्ट राजनीति ठूलो ? चुनावपछि थाहा हुन्छ ।’

अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता उत्तम लामिछानेले चौधरीलाई करोड खर्चेर अर्ब कमाउन सांसद बन्न लागेको आरोप लगाएका छन् । उनले दलहरुलाई पनि रकम चाहिएको र व्यापारीलाई त्योभन्दा बढी चाहिएको अर्थ लगाएका हुन् ।
उत्तमले सामाजिक सञ्जालमा भनेका छन्, ‘यहाँ राजनैतिक दलहरुलाई पनि पैसो नै ठूलो छ, पार्टीलाई चन्दा चाहिने,चुनावमा मतदातालाई पनि रक्सी र मासु नै चाहिने अनि तपाईंहरु पनि करोड खर्च गर्ने अनि राजनैतिक आडमा अरब कमाउने ध्याउन्नमा हुनुहुन्छ, त्यसैले त तपाईंहरुलाई पार्टीले पनि समानुपातिकमा बस्न चाहँदा समानुपातिकमै, प्रत्यक्षमा टिकट खोज्दा प्रत्यक्षमै टिकट दिन्छन्,’ भनेर व्यङ्ग्य गरेका छन् ।



