काठमाडौं : चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चानसु र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाबीच भेटवार्ता भएको छ। संघीय संसद सचिवालयका अनुसार मंगलबार बिहान नयाँ बानेश्वरस्थित संसद भवनमा भेट भएको हो।
चार दिने भ्रमणका लागि काठमाडौं आएका चानसुको प्रतिनिधि मण्डल र राष्ट्रियसभा अध्यक्ष तिमल्सिना नेतृत्वको टोलीबीच द्विपक्षीय भेटवार्ता भएको संघीय संसद सचिवालयले जनाएको छ। भेटवार्तामा आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ।

भेटमा दुवै पक्षले एकअर्काको विधायिकी र शासन सञ्चालन सम्बन्धी अभ्यासका बारेमा जानकारी आदानप्रदान गर्ने गरेका छन्।
तिमल्सिनालाई भेटे लगत्तै चानसुले पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपीशर्मा ओलीसँग भेटवार्ता गरेका छन्। लीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरूसँग भेट गर्ने कार्यतालिका छ। राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुधबार भेट्ने कार्यतालिका छ।



