काठमाडौँ – मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि सिट बाँडफाँड गर्न बसेका पाँच दलका शीर्ष नेताहरुको बैठक छलफलमै सीमित भएको छ।

बालुवाटारमा दिउँसो १२ बजेदेखि राति १० बजेसम्म चलेको बैठकमा बाँडफाँटका विषयमा विभिन्न चरणमा छलफल भए पनि निष्कर्ष निस्कन नसकेको हो।

प्रधानमन्त्री निवास बालुवाटरमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँटबारेमा गम्भीररुपमा छलफल भए पनि आज कुनै निष्कर्षमा पुग्न नसकिएको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राससलाई जानकारी दिए।

बैठकमा निरन्तर छलफल भए पनि सङ्ख्यामै कुरा अड्किएको र छिट्टै निष्कर्षमा पुगिने उनले विश्वास व्यक्त गरे। बालुवाटारमा दिनभर सामूहिक, द्धिपक्षीय बहुपक्षीय बैठक भए पनि सिट बाँडफाँडको औपचारिक निर्णय हुन नसकेको हो।

सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले छलफल सकारात्मक भए पनि निष्कर्ष पुग्न नसकिएको जानकारी दिए।

बैठकमा १६५ सिटका लागि कांग्रेसले एक सय, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए।

तर कांग्रेसले ८६, माओवादीले ४५ साजवादीले २०, जसपाले १३ र जनमोचोले एक लिने गरी करिब सहमति नजिक पुगेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय