काठमाडौँ – स्वतन्त्र उम्मेदवारहरुको सञ्जालले आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ ७ जना उम्मेदवार उठाउने घोषणा गरेको छ।
बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनीहरुले साझा चुनाव चिह्न ‘लौरो’ र घोषणापत्र सार्वजनिक गरेका हुन्।

कास्की–२ बाट सिरिष गुरुङ, काठमाडौँ– ८ बाट सुमन सायमी, काठमाडौँ–९ बाट विद्या श्रेष्ठ महर्जन, रुपन्देही–५ बाट भिष्म राना, रौतहट–१ बाट राहुल मिश्रा, काठमाडौँ–५ बाट मधुसुदन पाठक (सितेबा) र भक्तपुर–२ बाट दर्हो स्तंभ लोकेन्द्रले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका हुन्।
साझा चुनाव चिह्न र घोषणापत्र सार्वजनिक गर्न उनीहरुले बिहीबार ललितपुरमा ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ नामक कार्यक्रम आयोजना गरेका हुन्।

साथै प्रदेश सभातर्फ पनि ४ जनाले उम्मेदवारी घोषणा गरेका छन्। आगामी दिनमा अन्य उम्मेदवारहरु पनि विस्तारै थपिँदै जाने अभियानको दाबी छ।
गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा लौरो चुनाव चिह्नबाट प्रतिस्पर्धा गरेका केही स्वतन्त्र उम्मेदवारहरू विजयी भएपछि यसले चर्चा पाएको थियो।
काठमाडौँ महानगरपालिकाको मेयरमा विजयी बालेन साह र धरान उपमहानगरपालिकाको मेयरमा विजयी हर्क साम्पाङको चुनाव चिह्न लौरो थियो।
स्वतन्त्र उम्मेदवारहरू ‘वैकल्पिक शक्तिको लौरो अभियान’ कार्यक्रमका संयोजक सुमन सायमी हुन्। गत वैशाखमा सम्पन्न भएकाे स्थानीय तह निर्वाचनमा सायमी काठमाडाैँ महानगरकाे मेयरमा पराजित भएका थिए।



