काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) लाई एमाले नेता महेश बस्नेतले कडा धम्कीपूर्ण चेतावनी दिएका छन् ।काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा बनाइएको अवैध संरचना हटाएपछि भक्तपुरबाट एमालेका सांसदसमेत रहेका नेता बस्नेतले मेयर बालेनलाई धम्की दिएका हुन्

बिहीबार शुरुमा मेयर बालेनसहित काठमाडौं महानगरको टोली अल्फाबिटा कम्प्लेक्समा पुगेको थियो । मेयर साह सहितको टोली त्यहाँ निरीक्षणका लागि मात्रै गएको थियो ।

तर, अल्फाबिटा ग्रुपका सञ्चालक द्विराज शर्मा शिवाकोटीसँग भवन निर्माणको नक्सा माग्दा उनले आफूसँग नक्सा नभएको र तपाईसँग हुनु पर्ने भन्दै मेयर बालेनसँग जंगिएका थिए । चर्काचर्कीको यो विषयले सामाजिक सञ्जालबाट व्यापक चर्चा पाएको थियो ।

अल्फाबिटाका सञ्चालक शर्मा मेयर बालेनसँग नै जंगिएपछि महानगर आफैले आफूसँग रहेको कम्प्लेक्सको नक्सा हेरेको थियो । नक्सा हेर्दा कम्प्लेक्सले नक्सा विपरीत संरचना बनाएको पुष्टि भएको थियो । त्यसपछि महानगरले उक्त संरचना भत्काएको थियो ।

देशको राजधानी पर्ने काठमाडौं महानगरका कयौं ठूला भवनमा अवैध संरचना बनाइएको पाएपछि महानगरले यसअघि नै ३५ दिने सूचना जारी गरेर सो संरचना हटाउनको लागि व्यवस्थापन गर्ने किसिमले कदम चाल्न आग्रह गरेको थियो ।

यतिले नपुगेर निरीक्षण गर्न जाँदासमेत सञ्चालक जंगिएपछि महानगर आफैले नक्सा हेरेको थियो ।

महानगरले अल्फाबिटा कम्प्लेक्सको अवैध संरचना भत्काएपछि बिहीबार साँझ फेसबुकमार्फत पोष्ट गर्दै एमाले नेता महेश बस्नेतले अवैध संरचना हटाएको विषयविरुद्ध,’हामीसमेत मिलेर कसैको (मेयर बालेनको) सन्की र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुनेछौं,’ भन्दै कडा धम्कीपूर्ण चेतावनी दिएका हुन् ।

नेता बस्नेतले फेसबुक पोष्टमा हामी भनेर पूरै एमालेले नै एक्सन लिने किसिमले चेतावनी दिएका छन् । उनी एमालेका सांसद हुन् ।

यसैले पनि उनले हामीसँग नजिक भएर या फोटो लिएको कारण ? अल्फाबिटामा डाेजर लगाएको भए हामीसमेत मिलेर कसैको सन्की र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुनेछौं भन्न खोज्दासमेत उनले हामी भनेर एमाले दललाई नै जोड्न खोजेको देखिन्छ ।

नेता बस्नेतले फेसबुकमा लेखेको पोस्ट:

नेता बस्नेतको यो पोष्टको कमेन्टमा बालेन शाह नामक फेसबुक अकाउन्टबाट कमेन्ट गर्दै प्रतिक्रिया आएको छ ।

(यो समाचार तयार पार्दासम्म १ लाख ७४ हजार भन्दा बढी फलोअर रहेको र मेयर बालेनका अन्य सबै अकाउन्टहरु लिंक गरिएको उनकै आधिकारीक जस्तो अकाउन्ट देखिन्छ । यो पुष्टि गर्न त्यहाँ राखिएको नम्बरमा फोन लगाउँदा फोन उठेन)

सो प्रतिक्रियाको जवाफ फेरि नेता बस्नेतले फर्काएका छन् । बस्नेतको यो पाेस्टमा बालेन शाह नामक अकाउन्टबाट, ‘फोटो त हामीसँग खिचिएको पनि छ । पहिलो कारण नै हो’, भनेर कमेन्ट लेखिएको छ ।

कमेन्टमा अघि भनिएको छ,’नियम कानून पालना सबले गर्नुपर्छ कम्रेड । बरु हजुरको घरको नक्सा पास छ कि छैन,’ कमेन्टमा लेखिएको छ ।

यो कमेन्टको जवाफ दिँदै नेता बस्नेतले दोस्रो फेसबुक पोस्ट लेख्दै,’२/४ सय फेस बुके फ्यान भए भनेर नमात्तिनु विगतका यस्ता २/४ सय फेसबुके फ्यान भएका म्यान अहिले कहाँ छन् खोज्नै पर्ने भाको छ,’ भन्दै अर्काे कडा प्रहार गरेका छन् ।

नेता बस्नेतले पछिल्लो पोस्टमा लेखेका छन्:

चरम पार्किंगको समस्या रहेको काठमाडौं उपत्यकामा पार्किंग भएकै भवनहरुले त्यसलाई अन्य प्रायोजनमा प्रयोग गर्दै पैसा असुल्ने रणनीति बनाएका छन् ।

त्यस्ता अवैध संरचना हटाउने प्रयास काठमाडौं महानगरले यसअघि पनि गर्दै आएको भए पनि अहिलेका मेयर बालेनले त्यसलाई मुर्तरुप दिने अभियान चालेका छन् ।

ठूल्ठूला भवनहरुले नै यसरी नक्सा पास नगरी अवैध संरचना सञ्चालन गरेर नियम, कानून र महानगरको धज्जी उडाउन खोज्दा त्यसविरुद्ध उत्रेका स्वतन्त्र मेयर बालेनलाई एमाले नेता बस्नेतले एमालेले नै आक्रमण गर्ने किसिको चेतावनीसहित धम्की दिएका छन् ।

उक्त अल्फाबिटाका शर्मा एमालेका हुन् । त्यतिमात्र हैन अल्फाबिटामा महेश बस्नेतको समेत लगानी रहेको चर्चा छ ।

नेता बस्नेतले खुलारुपमा यसरी मेयर बालेनलाई चेतावनीसहितको धम्की दिइरहँदा नेता बस्नेतको व्यापक विरोध र आलोचना भइरहेको छ ।

महानगरलाई व्यवस्थित बनाउन मेयर बालेनले कसैको डर, धम्की र लोभलालचमा नपरेर कानुन अनुसार कदम चालिरहदा उनको कामको प्रशंसा भइरहेको छ ।

बनाइएको संरचना भत्काउँदा क्षणिक सहानुभूति देखिए पनि पार्किंग नहुँदा पेटीमा र सडकमा पार्किंग गर्नु बाध्यता, त्यसले त्यहाँ हिड्ने सर्वसाधारणलाई पर्ने समस्या र यसैकारणले सडक दुर्घटना भएर कसैको दुःखद् ज्यानसम्म जान सक्ने सम्मको स्थितिसमेत रहन्छ । अर्कातर्फ जथाभावी पार्किंग गर्दा ट्राफिक प्रहरी कारबाहीमा परिने अर्काे निश्चित पाटो हो ।

यसभन्दा पनि बढी महानगरमा नक्सा नै पास नगराएर आफ्नो फाइदाका लागि पार्किंग स्थलमा होटेल, क्याफे अन्य व्यवासय सञ्चालन गर्नेहरुको कमाउ धन्दा कानूनको धज्जी उडाउनु बाहेक अर्काे केही देखिन्न । सँगै यसले शहरलाई अव्यवस्थित र कुरुप बनाउँछ ।

तर बालेनको यो कदमविरुद्ध एमाले नेता बस्नेतले दलगतरुपमै आक्रमणको चेतावनी दिएका छन् । उसो त अल्फाबिटाका कम्प्लेक्सका सञ्चालक र एमाले नेता बस्नेतबीच आर्थिक साइनोसमेत रहेको र लगानीसमेत रहेका कुराहरु बाहिरिन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!