
काठमाडौं । नेपाल आयल निगमले १३ दिनको अवधिमा नै दुई पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसअघि माघ ५ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले मंगलबार फेरि नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।
निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ तय गरेको छ । डिजेल/मट्टीतेलको मूल्य प्रति लिटर १२५ रुपैयाँ तोकिएको छ ।
एलपी ग्यासको मूल्य यथावत राखिएको छ । यसअघि पेट्रोलको मूल्य ३ रुपैयाँले बढेर १३९ रुपैयाँ पुगेको थियो । डिजेल र मट्टीतेलमा पनि ३ रुपैयाँ बढेर १२२ रुपैयाँ पुगेको थियो ।
आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढेर १०६ र अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य प्रति किलोलिटर १०० डलरले बढेर ९९५ रुपैयाँ कायम भएको थियो ।