धनुषा । प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतोले प्रहरी प्रशासनकै सेटिङ्गमा चुरे दोहन भइरहेको बताएका छन् । उनले चुरे संरक्षणको सवालमा प्रहरी-प्रशासनको उपस्थिती शंकास्पद रहेको तर्फ संकेत गरे ।
टिपरले किचेर हत्या गरिएका पर्यावरण तथा चुरे संरक्षणका अभियन्ता ओमप्रकाश(दिलीप) महतोको दोस्रो स्मृति दिवसको अवसरमा आईतबार धनुषाको ढल्केवरमा आयोजित कार्यक्रममा वनमन्त्री महतोले यस्तो कुरा खुलाएका हुन् ।
प्रहरीसंग साँठगाँठ गरेर ठेकेदारले अवैैध रुपमा खोला उत्खनन् गर्ने गरेको उनले दावी गरे । ‘कतै उत्खनन् भइरहेको प्रहरीलाई जानकारी गराउनुस् । पहिला प्रहरीले ठेकेदारलाई फोन गरेर भगाउँछ अनि बल्ल एक घण्टापछि उत्खनन् स्थलमा प्रहरी पुग्ने प्रवृति छ,’ आक्रोशित हुँदै मन्त्री महतोले भने ।
प्रहरी युनिटमा सबै प्रहरी एकै किसिमको नभएको बताउँदै उनले इमान्दारीताका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने राष्ट्रसेवक प्रहरीको प्रशंसा समेत गरे ।
वन विनाश, अवैध चुरे दोहन गर्ने छुट कानूनले कसैलाई नदिएको उनको भनाइ थियो । चुरे दोहन गर्ने कार्यमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याउने अभियान सुरु गर्न लागेको उनले सुनाए । मन्त्री महतोले मन्त्रालय संयन्त्रमाथि पनि प्रश्न चिन्ह खडा भएको उल्लेख गरे ।
चुरे माफियाहरु विरुद्धको मन्त्रालयको भित्री योजना पनि बाहिरिने गरेकोमा उनको आक्रोश थियो । ‘माफियाहरु विरुद्ध कारबाहीको डण्डा चलाउने योजना मन्त्रालयमा बनाउँछौं,’ मन्त्री महतोले भने ‘केही बेरमै त्यो सूचना माफिया कहाँ गएर लिक भइदिन्छ ।’
उनले दिलीपलाई पर्यावरण शहिद घोषणाका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।
दोस्रो स्मृति दिवसको अवसरमा ओमप्रकाश महतो दिलीप पर्यावरण संरक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पर्यावरण संरक्षणको अभियानमा आफ्नो योग्दान पुर्याएका एकजना पत्रकारलाई पुरस्कृत गरिएको छ । चुरेको विषयमा समाचार लेखेर पर्यावरण संरक्षणको कार्यमा योग्दान पु¥याएको भन्दै गोरखापत्रका पत्रकार विजय कुमार साहलाई ‘ओमप्रकाश महतो दिलीप पर्यावरण संरक्षण’ पुरस्कारबाट पुरस्कृत गरिएको हो ।
उनलाई पाँचहजार नगद र कदर पत्रसहित पुरस्कृत गरिएको प्रतिष्ठानका सचिव फुलगेन महतो मगहीले जानकारी दिए । यो प्रतिष्ठानको तर्फबाट पहिलो पुरस्कार रहेको उनले जनाए । यस वर्षको पुरस्कार चुरे तथा सरसफाई अभियानी प्रदेश सांसद रामअशिष यादवले उपलब्ध गराएको सचिव मगहीले बताए ।
प्रतिष्ठानकी अध्यक्ष संगमकुमारी महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा धनुषाका जिल्ला वन अधिकृत सुनिल कुमार कर्ण, चुरे अभियानी तथा जनकपुर वन प्राविधिक समाजका सुरेश शर्मा, सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश २ का अध्यक्ष सोमप्रसाद शर्मा, मिथिला वाइल्डलाइफ ट्रष्टका अध्यक्ष देवनारायण मण्डल, घरपरिवारका सदस्य, संचारकर्मी तथा चुरे अभियानीहरुको उपस्थिती रहेको थियो ।