
काठमाडौं मेडिकल कलेज (केएमसी) ले अतिरिक्त शुल्क मागेपछि विद्यार्थी आन्दोलित भएका छन् । केएमसीले करिब २० लाख रुपैयाँ अतिरिक्त शुल्क मागेको भन्दै एमबीबीएसमा भर्ना भएका विद्यार्थी आन्दोलित भएका हुन् ।
भर्ना गरेर अध्ययनका लागि कलेज पुगेपछि चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क मागिएको भन्दै सोमबार विद्यार्थीहरुले कलेजमा आन्दोलन गरेका हुन् । विद्यार्थी आन्दोलित भएपछि कक्षा समेत सुरु हुन सकेको छैन ।
केएमसी कलेजले अतिरिक्त शुल्क असुलेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा समेत उजुरी दिएको सो मेडिकल कलेजका विद्यार्थी सुरज दासले बताए ।
एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगले काठमाडौं उपत्यकामा ४० लाख २३ हजार र उपत्यका बाहिर ४४ लाख ३६ हजर २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ । यद्यपि केएमसी कलेजले भने पहिलो किस्ता रकम बुझाएपछि विभिन्न शीर्षकमा ६० लाख रुपैयाँ बुझाउन विद्यार्थीलाई ताकेता गर्दै आएको एक विद्यार्थीले बताए ।