ओमिक्रोनप्रदेश १
फाइल तस्बिर ।

विराटनगर । प्रदेश नम्बर–१ मा कोरोना संक्रमितको संख्या घटेको छ । मंगलबार १३ संक्रमित थपिएका छन् ।

लक्षण देखिएकाहरूमा हुने परीक्षण दर घट्दा संक्रमित थपिने संख्या समेत कम देखिएको छ । तर, चिकित्सकहरूको अनुमानानुसार डेल्टा भेरियन्टको संक्रमण घटेको देखिन्छ । यही बेला ओमिक्रोनको भेरियन्टको जोखिम भने ह्वात्तै बढेको उनीहरूको भनाइ छ ।

कोसी अस्पतालका चिकित्सक लक्ष्मीनारायण यादव ओमिक्रोन छिमेकी देशहरूमा समेत आइसकेकोले खुला सिमाना भएको नेपालजस्तो मुलुकका लागि चुनौतीपूर्ण भएको बताउँछन् । “हामीले बेलैमा सचेतना नअपनाउने हो भने धेरै जोखिम हुनसक्छ,” उनले भेन, “सरकारले लागु गरेका स्वास्थ्यसम्बन्धी मापदण्ड पालनमा ध्यान नदिएको पाइन्छ । यसमा हेलचेक्र्याईं गर्नु हुँदैन ।”

प्रदेश–१ मा अहिले सक्रिय संक्रमितको संख्या ११७ छ । हालसम्म दुई लाख ७३ हजार ४५५ जनामा संक्रमण पुष्टि भएको छ । यो प्रदेशमा कोरोनाका कारण दुई हजार १८७ जनाको मृत्यु भइसकेको छ ।

चिकित्सकहरू नयाँ भेरियन्टको जोखिम झन् धेरै भएको बताउँछन् । सोही कुरालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले भारतका सीमावर्ती नाकाहरूमा हुने आउजाउमा स्वास्थ्य निगरानी गर्न सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सीमाबाट नेपाल आउने मानिसको स्वास्थ्य परीक्षणलाई बढाइएको बताए ।

विराटनगर महानगरपालिकाले जोगबनी–रानी नाकामा हेल्थडेस्क स्थापना गरी कोरोना परीक्षण गर्ने व्यवस्था मिलाएको छ । भारतबाट आउने शंकास्पद मानिसको एन्टिजेन परीक्षण गर्ने र पोजिटिभ आए अवस्था हेरेर अस्पताल वा आइसोलेसनमा पठाउने व्यवस्था मिलाइएको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ ।

ओमिक्रोन भेरियन्टको जोखिमलाई हेरेर प्रशासनले निषेधाज्ञासम्मको तयारी गरेको छ । यसअघि, स्थानीय तहको समेत रायसल्लाहमा प्रशासनले निषेधाज्ञा जारी गरी बजार बन्द गर्ने, आउजाउमा कडाइ गर्ने र सीमामा कडाइ गर्ने गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!