जनकपुरधामजानकी मन्दिरविवाह पञ्चमी

जनकपुरधाम— सीताराम विवाह पञ्चमी उत्सवले जनकपुरमा रौनक छाएको छ। जानकी मन्दिर दुलहीझैं सिंगारिएर झकिझकाउ बनाइएको छ । ३/४ दिनअघिदेखि नै नेपाल-भारतका विभिन्न ठाउँबाट आएका श्रद्धालुको चहलपहल बढेको छ । अधिकांश मठमन्दिर, धर्मशाला, होटल तथा लज भरिन थालेका छन् ।

विवाह पञ्चमी महोत्सवका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत श्रद्धालु आउने क्रम जारी छ ।

विभिन्न मन्दिरका महन्त तथा साधुसन्तसँगै विवाह पञ्चमी हेर्न आएका श्रद्धालु उत्साहित देखिन्छन् । शुक्रबारदेखि विधिवत् रूपमा सुरू भएको महोत्सवअन्तर्गत चौथो दिन आज तिलकोत्सव मनाइएको छ ।

तिलकोत्सवको अवसरमा १०८ वटा पाहुर लिएर जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव राम मन्दिर पुगेका थिए। त्यहाँ अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राममन्दिरका महन्त राम गिरी र जानकी मन्दिरका महन्तले सम्धी मिलन गरेका थिए । मंगलबार मटकोर विधि र बुधबार मुख्य कार्यक्रम विवाह हुनेछ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा जनकपुरमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा धुमधामसँग विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ ।

रामजानकीको स्वयंवर, धनुष यज्ञ, वैवाहिक कार्यक्रममा सहभागी भई पूजाअर्चना गर्नाले पारिवारिक सुखशान्ति र हरेक दुःखबाट मुक्ति हुने जनविश्वास छ।

कोरोना भाइरसका कारण प्रभावित हुँदै आएको विवाह पञ्चमीमा यस वर्ष पाँच लाखभन्दा बढी श्रद्धालु आउने अनुमान गरिएको छ। महोत्सवमा सहभागीलाई मास्क अनिवार्य गरिएको छ । महोत्सवमा हुने भीडले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिने जोखिम उच्च रहेकाले मास्क अनिवार्य गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा नेपाल रेडक्रस सोसाइटीलगायत सामाजिक संघ संस्थाले हेल्थ डेस्क राख्ने र निःशुल्क मास्क वितरण गर्ने तयारी छ। विवाहमहोत्सवको अवसरमा प्रदेश २ सरकारले बुधबार सार्वजनिक बिदा पनि दिएको छ । गत वैशाखमा प्रदेश सरकारले विवाह पञ्चमीमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो।

त्यसैगरी जनकपुरधाम उपमहानगरपालिकाले पनि विवाह पञ्चमी महोत्सवको अवसरमा नगरपालिकाका सम्पुर्ण सामुदायिक तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मंगलबारदेखि बिहीबारसम्म सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरिएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले जानकारी दिए। विवाह पञ्चमीकै लागि एक हप्ता जनकपुरधाम परिक्रमा क्षेत्रमा माछा, मासु र मदिरा बिक्री वितरणमा रोक लगाइएको छ। मंसिर २६ गतेसम्म उपमहानगरपालिकाले माछा, मासु र मदिरा बिक्री वितरणमा रोक लगाएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!