जनगणनाराष्ट्रिय जनगणना २०७८

जनकपुरधाम । राष्ट्रिय जनगणना २०७८ मा गम्भीर त्रुटि भएको भन्दै मैथिली साहित्यकार सभाले तथ्यांक कार्यालय धनुषामार्फत केन्द्रीय तथ्यांक विभागलाई ज्ञापनपत्र बुझाएको छ।

मैथिली साहित्यकार सभाका सभापाल प्रेमविदेह ललनको अनुवाइमा कार्तिक २५ देखि मंसिर ९ गतेसम्म चलेको जनगणनामा त्रुटि भएकाले सच्याउनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाइएको हो। जनकपुरधामस्थित विभिन्न ८ वटा भाषिक र सामाजिक संघसंस्थाका प्रतिनिधिहरुले तथ्यांक कार्यालय प्रदेश २ का प्रमुख विमलकुमार यादवलाई ज्ञापनपत्र बुझाएका हुन्।

‘सप्तरी जिल्लास्थित हनुमाननगरको घटना ज्वलन्त उदाहरण हो, जहाँ गम्भीर त्रुटि गरिएको कारण जनगणनाका सुपरिवेक्षकलाई बर्खास्त गरिएको थियो। यस्ता गडबढी सप्तरी, सिरहा, धनुषा, महोत्तरीसहित धेरैजसो जिल्लामा पाइएका छन्। सुपरिवेक्षक र गणकहरुले सबैका घरमा तथ्याङ्क संकलन गर्न नगएको, कलमको सट्टा सीसाकलमले फारम भरेको, फारमको सट्टा सादा कागजसमेत प्रयोग गरिएको, कतिपय व्यक्तिसँग धर्म र मातृभाषासम्बन्धी प्रश्न नसोधिएको, उत्तरदाताले भनेको धर्म र मातृभाषाको सट्टा अर्को धर्म र मातृभाषा लेखेकोजस्ता गम्भीर गडबढी विभिन्न जिल्ला र पालिकाहरुमा देखिएका छन्’, ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

मैथिली भाषा बोलिने क्षेत्रमा जातिवादको राजनीति गर्ने राजनीतिक व्यक्ति, केही जातिवादी संघ–संस्था, कबीरपन्थी संस्था तथा कथित मगही र बज्जिका अभियन्ताहरुको निर्देशनमा मैथिली भाषीको संख्या घटाउन मैथिली भाषालाई नै मगही र बज्जिका भनी फारममा उल्लेख गरिएको मिथ्याङ्क तथ्याङ्क कार्यालयमा पठाइएको विभिन्न घटना र प्रमाणबाट प्रमाणित भइसकेको ज्ञापनपत्रमा दावी गरिएको छ।

मैथिली बोलिने क्षेत्रहरुबाट पठाइएको जनगणनासम्बन्धी तथ्याङ्कको छानबिन गरी गलत मनसायले विवरण भरेका सुपरिवेक्षक र गणकहरुमाथि कारबाही गर्न माग गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय