
काठमाडौं । नेपाल र भारत सरकारबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका स्वास्थ्य सचिव डा. रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले ‘रेसिप्रोकल रिकग्निसन अफ कोभिड भ्याक्सिन सर्टिफिकेट’ सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
सहमतिपत्रमा हस्ताक्षर गरेसँगै अब नेपाल र भारत दुवै देशमा आवतजावत गर्न कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने स्वास्थ्य सचिव पोखरेलले जानकारी दिए ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, स्वास्थ्य सचिव डा. रोशन पोखरेल लगाएतका उपस्थिती रहेको थियो ।
यससँगै नेपालमा कोरोनाबिरुद्धको खोप लगाएकाहरुले भारतमा मान्यता पाउँछन् भने भारतमा कोरोनाबिरुद्धको खोप लगाएकाहरुले पनि नेपालमा मान्यता पाउने भएका छन् ।
यसअघि कोरोना खोपको मान्यता नपाएको कारण नेपाल–भारत सीमामा आवत–जावतको समस्या भएको थियो । अब भने नेपालमा भारतबाट आइ काम गर्ने कामदार र नेपालबाट भारत गइ ज्याला मजदुरी गर्नेहरुलाई सहज भएको छ ।