सिरहा । सिरहाको चोहर्वामा रहेको मारुती सिमेन्टको विक्रि वितरणमा रोक लगाईएको छ ।
गुणस्तर तथा नापतौल विभागले गरेको एक अनुगमनका क्रममा कमसल सामग्री विक्रि वितरण गरेको भन्दै मारुती सिमेन्ट सहित तीन उद्योगको सिमेन्टको बिक्री वितरणमा रोक लगाएको छ ।
मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट प्रालिले उत्पादन गरेको सिमेन्टमा कम गुणस्तर पाइएको भन्दै विभागले १५ दिनभित्र स्पष्टीकरण दिन पत्राचार समेत गरेको छ । ती सिमेन्टको गुणस्तर परीक्षण गर्दा मापदण्ड अनुरुप गुणस्तर नभएकाले बिक्री वितरणमा रोक लगाउँदै स्पष्टीकरण सोधिएको नापतौल विभागले जनाएको छ ।

सिरहाको गोलबजार नगरपालिका ९ चोहर्वामा रहेको मारुती सिमेन्टको ओपिसी ४३ ग्रेड, धादिङमा रहेको युनाइटेड सिमेन्टको ओपिसी ५३ ग्रेड र रुपन्देहीमा रहेको जगदम्बाको पिपिसी सिमेन्टको नमुना परीक्षण गर्दा मापदण्ड अनुसार गुणस्तर नपुगेको विभागका महानिर्देशक विश्वबावु पुडासैनीले बताएका छन् । कम्पनीहरुले ४३/५३ ग्रेड भएको दाबी गरेपनि अनुगमनको क्रममा त्यस्तो फेला नपरेको उनले बताए ।
मारुतीबाट संकलन गरिएको नमुनाको कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको मान क्रमश ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको महानिर्देशक पुडासैनीले बताए । युनाइटेडको कम्प्रेसिभ स्ट्रेन्थ क्रमश ३७ र ५३ हुनुपर्नेमा न्यूनतम ३५ र ३९ र जगदम्बाबाट संकलित नमुनाको कम्प्रेसिभ स्ट्रेन्थ १६ र २२ हुनुपर्नेमा १५ र २० मात्रै पुगेको उनले बताए ।

सिमेन्टको स्ट्रेन्थ कम हुनु भनेको गुणस्तर कम भएको भन्दै मारुतीको ओपिसी ४३ ग्रेड, युनाइटेडको ओपिसी ग्रेड ५३ र जगदम्बाको पिपिसीको बिक्री बितरण रोक्न पत्राचार गरेका उनले बताएका छन् । ती कम्पनीहरुलाई गुणस्तर प्रमाण चिन्ह ऐन, २०३७ अनुसार स्पष्टीकरण सोधी कारबाही गरिने भएको छ । गुणस्तर कम भेटिएको ब्याचका सिमेन्ट बजारबाट फिर्ता लिन पनि विभागले निर्देशन दिएको छ ।
त्यस्तै विभागले धनुषाको जानकी केवल इन्टरनेट कम्पनीलाई ०।७ एमएम स्क्वायर र १ एमएम स्क्वायर पिभिसी केवलको बिक्री वितरण रोक्न निर्देशन दिएको छ । सो केवल नेपाल गुणस्तर बमोजिम नरहेको जनाउँदै विभागले उल्लेखित साइजको पिभिसी बजारबाट फिर्ता लिन निर्देशन दिएको छ ।
यस्तै बाराको ग्याँस वान नेपाललाई पनि स्पष्टीकरण सोधिएको छ । सो ग्याँस उद्योगले सेफ्टी क्याप नलगाएको, टेर वेट नलिएको, सिभिटी मेसिन नभएको, सिलिण्डर धुने व्यवस्था नभएको लगायतका मापदण्ड पुरा नगरेको भन्दै बोटलिङको कार्य बन्द गर्न विभागले निर्देशन दिएको महानिर्देशक पुडासैनीले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय