धनुषानेपाली कांग्रेस

जनकपुर । नेपाली काँग्रेसको क्रियाशील सदस्यताबारे लामो समय विवाद भएको धनुषामा कात्तिक २८ गते वडा अधिवेशन हुँदैछ । धनुषामा एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिकाका १६१ वडामा कात्तिक २८ गते आइतबार काँग्रेसको वडा अधिवेशन हुने भएको छ । वडा अधिवेशनले पार्टीको वडा सभापति चयन गर्नुका साथै दुई उपसभापति, दुई सचिव, दुई सहसचिव र सदस्यहरुसहित नौ देखि ११ सदस्यीय कार्य समिति चयन गर्नेछ । कार्यसमितिका कोषाध्यक्ष भने वडा सदस्यबाट मनोनित गर्ने प्रावधान छ ।

वडा अधिवेशनले प्रत्येक वडाबाट १५ देखि २५ जनासम्म क्षेत्रीय प्रतिनिधि चयन गर्ने जनकपुरधाम उपमहानगर समितिका सभापति मनोज कुमार साहले जानकारी दिए । काँग्रेसका जनकपुरधाम नगर सभापति मनोजकुमार साहका अनुसार १५० क्रियाशील सदस्य भएका वडामा १५ जना क्षेत्रीय प्रतिनिधि छनोट गरिनेछ भने २५० भन्दा बढी क्रियाशील सदस्य भएका वडामा २५ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ । जसअन्तर्गत जनकपुरधाम उपमहानगरपालिकाका पाँच वटा वडामा २५ जना र अन्य २० वटा वडामा १५ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।

वडा अधिवेशनले नै बुथ कमिटीसमेत गठन गर्ने जनाइएको छ । १५ जना क्षेत्रीय प्रतिनिधि भएका वडामा खुलातर्फ नौ मध्ये ६ पुरुष र तीन महिला तथा दलित, आदिवासी, जनजाति, खस आर्य, मुस्लिम र अल्पसंख्यकतर्फ चार पुरुष र दुई महिला निर्वाचित हुनेछन् । २५ जना क्षेत्रीय प्रतिनिधि चयन हुने वडाको अनुपात पनि यसरी नै रहने जनाइएको छ ।

क्षेत्रीय प्रतिनिधिहरू नगर सभापति, क्षेत्रीय सभापति र जिल्ला सभापति पदका लागि उम्मेदवार तथा मतदाता हुनेछन् । क्षेत्रीय प्रतिनिधिहरुले नै जिल्लाका प्रत्येक प्रदेशसभा क्षेत्रबाट १५ जनाका दरले प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन गर्नेछन् भने केन्द्रीय महाधिवेशनका मतदाताका रुपमा प्रत्येक प्रतिनिधिसभा क्षेत्रबाट २५ जनाका दरले महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने व्यवस्था छ ।

धनुषामा नवीकरण तथा नयाँ सदस्यता गरी साढे २३ हजार क्रियाशील सदस्य रहेको नेपाली काँग्रेस धनुषाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!