
काठमाडौँ । गृह मन्त्रालयले सुनसरी, कैलाली र सुर्खेतको हिरासत कक्ष तथा कारागारमा भएको आत्महत्यासम्बन्धी छानबिन गर्न बनाएको समितिले मंगलबार प्रतिवेदन बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासत कक्षमा २९ वर्षीय मोहम्मद हकिमले, इलाका प्रशासन कार्यालय टीकापुर कैलालीको हिरासतमा सर्खेतका ३५ वर्षीय धनबहादुर रानाले र कारागार कार्यालय पर्वतमा ५८ वर्षीय दुर्गाराज पाण्डेले गरेको आत्महत्याको घटना अध्ययनका लागि गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतम संयोजकत्वमा समिति गठन गरेको थियो ।
समितिमा नेपाल प्रहरीका एसपी प्रविण पोखरेल, राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक विकास पाण्डे र कारागार व्यवस्थापन विभागका शाखा अधिकृत गणेश गौतम सदस्य थिए । मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाउँदै समिति संयोजक गौतमले छानबिनका क्रममा भेटिएका प्रमाणले तीन स्थानमै आत्महत्या भएको पुष्टि भएको बताए ।
समितिले कारागार र हिरासत कक्षमा हुने आत्महत्या कम गर्न कैदीबन्दीलाई मनोसामाजिक परामर्श दिनुपर्ने, थुनुवालाई निःशुल्क कानुनी परामर्श दिनुपर्ने, हिरासत कक्षमा सुरक्षा निगरानी गर्नुपर्ने, हिरासत कक्षमा राखिएका सीसीटिभीलाई रेकर्डिङ र मनिटरिङ गर्ने व्यवस्था गर्नु पर्नेलगायतका सुझाव दिएको छ ।