
दाङ । रुकुम पश्चिममा एक जना वडाध्यक्षसहित पाँच जुवाडे पक्राउ परेका छन् । मुसिकोट नगरपालिका वडा नं. १३ का वडाध्यक्ष दीपक केसी बिहीबार जुवाखालबाट पक्राउ परेका हुन् ।
उनीसँगै ४३ वर्षीय उत्तम खड्का, ३१ वर्षीय तोयाराम वली, ३३ वर्षीय युगल पुन र ३४ वर्षीय कमल बुढालाई पनि प्रहरीले पक्राउ गरेको छ।
४० वर्षीय केसी नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन् । पक्राउ परेका वली सरकारी कर्मचारी हुन् ।
उनीहरूको साथबाट जुवा खेल्न प्रयोग गरिएको कौडा र एक लाख आठ हजार दुई सय ९० रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी प्रमुख डिएसपी ध्रुवकुमार श्रेष्ठ श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए ।
गोप्य सूचनाको आधारमा मुसिकोट नगरपालिका वडा नं. १ मठस्थित उत्तम खड्काको घरमा राति साढे ११ बजे छापा हान्दा वडाध्यक्ष केसीसहित पाँच जना जुवाको खालबाट पक्राउ परेको डिएसपी श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेकाहरूलाई जुवा ऐनअन्तर्गत मुद्दा चलाएर कानुनी कारबाही सुरू गरिने डिएसपी श्रेष्ठले बताए ।