#सप्तरी#सिरहाडुबानधान बाली

सिरहा । सिरहा र सप्तरीमा लगातारको वर्षाले धान बालीमा क्षति पुगेको छ । आइतबार रातिदेखि परेको वर्षाले जिल्लाका दक्षिणी क्षेत्रमा काटेर खेतमै रहेको अवस्थामा धान बाली डुबानमा परेको छ । लगातर भइरहेको वर्षाका कारण सिरहा र सप्तरीका किसान चिन्तित बनेका छन्।

वर्षाले खेतमा पानी जमेपछि काटेको धान कुहिने र त्यसले ठूलो क्षति पुगेको सप्तरीको बलान विहुल गाउँपालिका– ५ का कृषक अशोक यादवले बताए। सप्तरीको दक्षिणी क्षेत्रका बलान विहुल गाउँपालिका, बोदे बरसाइन नगरपालिका, डाक्नेश्वरी नगरपालिका, राजगढ गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिका क्षेत्रमा धान बालीमा बढी असर पारेको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ।

यता सिरहा जिल्लाको सिरहा नगरपालिका, औरही गाउँपालिका, बरियारपट्टी गाउँपालिका, नवराजपुर गाउँपालिका र भगवानपुर गाउँपालिका क्षेत्रका खेतमा लगाइएको धान बालीमा क्षति पुगेको छ।

राष्ट्रिय कृषक महासंघ सिराहाका अध्यक्ष मुक्तिलाल यादवले वर्षाले गर्दा धानखेतीमा व्यापक असर पारेका बताए । कतिपयले पाकिसकेको धान कटान गरी खेतमै छाडेको अवस्थामा वर्षा हुँदा क्षति पुगेको उनले बताए । एकातिर गाईवस्तुलाई चाहिने लार (पराल) र अर्कोतिर धान उत्पादनमा असर पुगेको अध्यक्ष यादवले बताएका छन्।

अहिलेसम्म क्षतिको पूर्ण विवरण प्राप्त भइसकेको छैन । यद्यपि, करिब २० प्रतिशतसम्म उत्पादनमा कमी आउन सक्ने कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख कृष्णदेव राउतको अनुमान छ । सिरहा जिल्लामा कुल ७३ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये ५४ हजार हेक्टर र सप्तरीको ६८ हजार हेक्टरमध्ये ६३ हजार हेक्टरमा धानवाली लगाइएको केन्द्रले जनाएको छ। वर्षाले साथ दिँदा सतप्रतिशत रोपाइँ भएकाले केन्द्रले दुवै जिल्लामा धान उत्पादन बढ्ने अनुमान गरेको थियो । तर, आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण उत्पादनमा करिब २० प्रतिशत क्षति पुग्ने ज्ञान केन्द्र सिरहाका प्रमुख राउतले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!