सिरहा । कोरोना संक्रमण रोक्न लकडाउन सुरुभएपछि देशको सीमानाका बन्द गरिएको थियो । पछिल्लो समय सीमानाका पूर्ववत रुपमा सचारु गर्न संघीय सरकारले निर्णय गरिसकेको छ । निर्णय गरेसँगै सीमानाका खुला पनि भएको छ ।
निर्णय भएको एक महिना पुग्न लाग्दा सहज रुपमा सवारी साधन आवत जावत हुन सकेको छैन् । प्रदेश २ अन्र्तगत सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सलार्ही, रौतहट र बारा जिल्लाका सीमानाकाले अझैं सहजता पाउन सकेको छैन् ।
खासमा स्वास्थ्य प्रोटोकल पालना गर्न भन्दै जारी गरिएको प्रावधान नै झन्झटिलो भएपछि भारतबाट नेपाल आउनेलाई सास्ती खेप्नु परेको छ । त्यससँगै अनलाईन फाराम भर्नुपर्ने जस्ता अनावश्यक कागजातको मागले भारतबाट नेपाल आउनेलाई अप्ठ्यारो भईरहेको छ । बेटीरोटीको सम्बन्ध रहेको नेपाल–भारतवीचको सीमानाका पूर्ववत सहज रुपमा संचालन गरिनु पर्ने नेपाल भारत मैत्री संघका अध्यक्ष संतोष अग्रवालले बताए । नेपालबाट भारत र भारतबाट नेपाल आउन कुनै अवरोध सीमामा नागरिकले भोग्नु नपर्ने वातावरण पुनः स्थापित गर्नु जरुरी भएको अध्यक्ष अग्रवालले बताए ।
नेपाल आउन भारतीय नागरिकलाई पिसिआर परीक्षणको रिर्पोट, अनलाईन फाराम भर्नुपर्ने र अनरवुक लगायतका कागजात दिनुपर्ने झन्झटिलो प्रकृया थपिएको छ । कोरोनाका सीमामा टेस्ट गर्न एन्टिजेन परीक्षणको व्यवस्था मिलाएर सहज रुपमा सवारी आउन दिनुपर्ने सिरहा स्थानीय व्यवसायी शंकर गुप्ताको भनाई छ ।
नेपालबाट भारत तर्फ जाने नेपाली नम्बरका सवारीसाधनलाई सीमापारी भारतीय सुरक्षाकर्मी एसएसबीले अवरोध गर्दै आईरहेको छ । एसएसबीले नेपाली नम्बरका सवारीसाधनलाई दशजग्गामा रोक्न लगाउदाँ सीमा छेउका नेपालीलाई सास्ती खेप्नु परेको छ । सीमावर्ती भारतीय पत्रकार ललित झाले सीमाक्षेत्रमा सहज रुपमा आवतजावत हुनुपर्ने बताएका छन् । ‘नेपाल जान अनावश्यक कागजात माग्ने गरेको र भारत आउन एसएसबीले अवरोध गर्दै आएको छ,’ पत्रकार झाले भने,‘यो अवस्थालाई सहज बनाउनु पर्छ । बेटी रोटीको सम्बन्धमा कुनै प्रकारले अवरोध पुर्याउन हुन्न् ।’
सिरहाको माडर भन्सार छेउको दशगंजामा नेपाल र भारतका चारपाङ्े सवारीसाधन अवरोधकै कारण सीमा वारपार नगरी रोक्ने गरेको छ ।
नेपाल र भारतका स्थानी प्रशासनले यो सीमा भएर सहज रुपमा आवतजावत गर्न झन्झटिलो व्यवस्थालाई सहज बनाउनुपर्न स्थानीयहरुको माग रहेको छ ।