जनकपुर । प्रदेश २ का प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारको नाममा पैसा उठाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । डिआइजीको नाममा पैसा मागेको अडियो विभिन्न अनलाइन सञ्चारमाध्यममा सार्वजनिक भएपछि सर्लाहीकी सुशीला थापालाई पक्राउ गरिएको हो ।
थापाले डिआइजी रञ्जितकारमार्फत प्रहरी स्कुल गरुडामा शिक्षक पदमा स्थायी गराइदिने भन्दै पैसाको मोलमोलाइ गरेको अडियो सार्वजनिक भएको थियो ।
निज महिलाले प्रहरी नायव महानिरीक्षक रञ्जितकारको नाम जोडेर निहित स्वार्थ राखी व्यक्तिगत आर्थिक लाभ गर्ने उद्देश्यका लागि काम गर्न खोजेकाले उनलाई पक्राउ गरी हाल रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । पक्राउ परेकी महिलाउपर कसुरअनुसारको कानुनी कारबाही हुने उनले बताए ।
साथै विभिन्न सञ्चारमाध्यममा प्रकाशित एकै प्रकृतिका समाचार भ्रामक रहेको भन्दै यसप्रति यस २ नम्बर प्रदेश प्रहरी कार्यालयको गम्भीर ध्यानाकर्षण भएको समेत जनाइएको छ ।
असोज ५ गते विभिन्न अनलाइन सञ्चारमाध्यमले ‘घुमुवाले मात्र होइन, महिलाले पनि उठाउँछिन् डिआइजीको पैसा’ शीर्षकमा समाचार प्रकाशित गरेका थिए ।
सो समाचार आधारहीन, झुठा, कपोल्कल्पित, भ्रामक, संगठनप्रति बदनामी गराउने तवरको भएको तथा उक्त समाचारमा कुनै पनि सत्यता नरहेको दाबी गरिएको छ ।