अमर कुसैत/जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिकास्थित ढल्केबरमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु. ७२ प. ४७९२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको स. ४ प. ७९२६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा सिरहाको नरहा गाउँपालिकाका ३० वर्षीय रुपेश यादवको मृत्यु भएको हाे ।
स. ४ प. ७९२६ नम्बरको मोटरसाइकल चालक यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस्तै लु. ७२ प. ४७९२ नम्बरको मोटरसाइकल चालक धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ बस्ने ४६ वर्षिय मोहम्मद हासिम दुर्घटनामा परि घाइते भएका छन् ।
उनको स्थानीयस्तरमै उपचार भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको र घटना विषयमा थप अनुसन्धान भईरहेको धनुषा प्रहरीले जनाएको छ ।