इनु थिङ
ग्रोइङ नेपाल फाउन्डेसनका अध्यक्ष सरोज राय र इनुबहादुर थिङ

काठमाडौं । इनुबहादुर थिङ १२ वर्षको उमेरमा चिनेका मानिसको साथ लागेर भारतको नयाँ दिल्ली गएका थिए । दिल्लीको एक होटलमा काम गरेर पेट पालिरहेका थिए ।

दिल्लीस्थित बाल कल्याण समितिले सो होटलमा अनुगमन गर्ने क्रममा बाल श्रमिक काममा लगाएको देखेर इनुलाई उद्धार गर्‍यो । उनलाई दिल्लीस्थित एक बालआश्रममा राखियो ।

आश्रमले उनी नेपाली भएको थाहा पाएपछि नेपालसँग सीमा जोडिएको बेतियास्थित जिल्ला बाल संरक्षण इकाई पश्चिम चम्पारणमा पठाइदियो ।

भारतबाट बालबालिका उद्धारको काम गर्दै आएको ग्रोइङ नेपाल फाउन्डेसनले बेतियाको बाल संरक्षण इकाइमा नेपाली किशोर रहेको थाहा पाए । इकाइले पनि उनलाई जतिसक्दो चाँडो परिवारको जिम्मा लगाउन चाहेको थियो ।

फाउन्डेसनका अध्यक्ष सरोजकुमार राय इनुको परिवारको खोजीमा लागे । तर पत्ता लगाउन सकेनन् । उनले बाल संरक्षण इकाईसँग कानुनी प्रक्रिया पूरा गरेर इनुलाई २ साउनमा नेपाल ल्याए ।

हाल इनु १८ वर्ष पुगिसकेका छन् । इनुसँगै भारतको दरभङ्गाबाट ५ जना बालकको उद्धार गरिएको थियो । चारजना बालकलाई परिवारको जिम्मा लगाउने काम भएपनि इनुका परिवार अहिलेसम्म सम्पर्क आउन नसकेको रायले बताए ।

‘इनुले आफ्नो बुबाको नाम लालबहादुर थिङ भनेका छन् । इनुले बताए अनुसार उनको आमा–बुबा पनि होटलमा काम गर्थे । उनले भनेअनुसार उनको आमा–बुबा नारायणगढदेखि मुग्लिनसम्मको कुनै होटलमा काम गरेको हुनुपर्छ’ रायले भने । हाल इनु जनकपुरस्थित रायकै घरमा छन् । राय उनको परिवारको खोजी गरिरहेका छन् ।

भारतीय बैंकमा इनुको वचत खाता

आश्रमले इनुको आधार कार्ड समेत बनाइदिएको छ । आधार कार्डमा इनुको जन्ममिति सन् २००० अक्टोबर २४ तारेख लेखिएको छ । आधार कार्डमा इनुको ठेगाना दिल्ली लेखिएको छ । आधार कार्डअनुसार खोलिएको इनुको बैंक खातामा भारत सरकारले मासिक ५ सय भारतीय रुपैयाँ वचत गरिदिन्छ ।

रायका अनुसार अहिलेसम्म इनुको खाताबाट रकम निकालिएको छैन । इनुलाई परिवारको जिम्मा लगाएपछि उनले पाउने रकमका लागि समन्वय गरिने रायले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!