कठमाडौं । यातायात व्यवस्था विभागले एक वर्ष अवधिको परीक्षणकालीन सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण थालेको छ । विभागले लाइसेन्सको ट्रायल परीक्षा पास गरिसकेका र नवीकरण गर्न बाँकी आवेदकलाई परीक्षणकालीन लाइसेन्स वितरण सुरु गरेको हो ।
यातायात व्यवस्था विभागकाअनुसार खरिद गरिएको स्मार्ट कार्ड आउने टुङ्गो नलाग्दा अस्थायी रूपमा उक्त लाइसेन्स वितरण थालिएको हो । विभागका प्रवक्ता डा. लोकनाथ भुसालले परीक्षामा पास भएका चालकले लामो समयसम्म लाइसेन्स पाउन नसेकपछि उक्त लाइसेन्स वितरण गर्न थालिएको जानकारी दिए ।
‘‘तत्काल विभागसँग स्मार्टकार्ड नहुँदा नयाँ लाइसेन्स छापेर दिने अवस्था छैन । त्यसैले एक वर्षका लागि परीक्षणकालीन लाइसेन्स वितरण थालेका हौँ । उक्त लाइसेन्स पाउने चालकलाई क्यूआर कोर्ड पनि दिइनेछ,” प्रवक्ता भुसालले भने ।
विभागकाअनुसार शुक्रबारदेखि काठमाडौंको एकान्तकुनाको कार्यालयबाट परीषकालीन लाइसेन्स वितरण सुरु भएको छ । विस्तारै अन्य जिल्लाका यातायात व्यवस्था विभागका कार्यालयहरूबाट पनि वितरण गरिने विभागले जनाएको छ । प्रवक्ता भुसाल भन्छन, ‘‘लाइसेन्स लिनका लागि करिब ६ लाख आवेदक पर्खाइमा छन् । लामो समयसम्म विभागले सेवाग्राहीलाई लाइसेन्स वितरण गर्न नसकेको अवस्था छ । यो अवस्थालाई कम कसरी गर्ने भन्नेबारे विभागमा छलफल भइरहेको थियो ।”
यसरी दिइनेछ परीक्षणकालीन लाइसेन्स
विभागका महानिर्देशक नमराज घिमिरेकाअनुसार वषौँदेखि लाइसेन्स नपाएका चालकहरूले सहजै परीक्षणकालीन लाइसेन्स पाउने छन् ।
‘‘आवेदकहरूले ट्रायल पास गरिसकेपछि आवेदकको लाइसेन्स नम्बर प्रिन्टिङ सर्भरमा आउँछ । हामीले एउटा नयाँ एप्लिकेसन बनाएर परीक्षणकालीन लाइसेन्सको डाटा इन्ट्री गर्छाैँ । उक्त तथ्याङ्क इन्ट्री गरिसकेपछि ट्रायल पास गरिसकेको मानिसले राजस्व तिर्छ । त्यसपछि उसको लाइसेन्स प्रिन्ट प्रिभ्यूमा आउँछ । साधारणतया अन्य कागज जसरी हामीले यो परीक्षणकालीन लाइसेन्स प्रिन्ट गर्न सक्छौँ,” उनले भने ।
उनका अनुसार विभागले भदौ २० गतेदेखि बर्दिबासबाट परीक्षणकालीन लाइसेन्स वितरण सुरु गर्ने तयारी गरेको छ ।
स्मार्ट कार्डको अभावले रोकिएको लाइसेन्स छपाइ नहुँदा कैयौँ चालकहरूले विभिन्न समस्या भोग्दै आएका छन् । कोरोनाले प्रभावित पारेको जनजीवन सामान्य भएसँगै छिट्टै स्मार्ट कार्ड ल्याउने विभागको तयारी छ ।
विभागले काठमाडौं उपत्यकामा यही भदौ २० गतेदेखि सवारी लाइसेन्सका परीक्षा सञ्चालन गर्दैछ ।