काठमाडौं । सरकारले स्वास्थ्य मापदण्ड पालना गरेर सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षा सञ्चालन तयारी गरेको छ । कोभिड–१९ कारण लामो समयदेखि स्थगित लाइसेन्स परीक्षा खुलाउन यातायात व्यवस्था विभागले देशभरका सबै यातायात कार्यालयलाई पत्राचारसमेत गरेको छ ।
विभागले एक साताको सूचना निकालेर यथाशीघ्र ट्रायल परीक्षा सञ्चालनमा ल्याउन पत्राचार गरेको छ । विभागका निर्देशक डा.लोकनाथ भुसालले पत्रमा स्वास्थ्य मापदण्ड पालना गरेर ट्रायल परीक्षा सञ्चालन गर्न भनिएको बताएका छन् । विभागले ट्रायलका लागि कोभिड–१९ संक्रमण विशेष अवस्थामा सवारीचालक अनुमतिपत्र परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड २०७८ परीक्षा गर्न लागेको छ । साउन अन्तिमबाटै लाइसेन्स परीक्षा खुलाउने तयारी गरेको थियो ।
कोभिड संक्रमित संख्यामा वृद्धि भएपछि परीक्षा खुलाउन विभाग पछि हटेको थियो । पछिल्लो पटक लोकसेवा तथा कक्षा १२ परीक्षासमेत भौतिक रूपमा हुने भएपछि लाइसेन्स परीक्षा खुलाउन लागिएको छ । यातायात कार्यालयले अर्को साता लाइसेन्स परीक्षासम्बन्धी सूचना निकाल्ने सम्भावना छ । सरकारले अनलाइन आवेदन दिएकालाई जानकारीका लागि एक साताअघि नै सूचना निकाल्ने तयारी गरेको छ । हाल, करीब ५ लाखले अनलाइन आवेदन दिएर परीक्षाका लागि पर्खाइमा बसेका छन् ।
विभागले ट्रायलसँगै अनलाइन आवेदन पनि खुलाउने तयारी गरेको छ । कोभिडका कारण जनशक्ति र परीक्षा सञ्चालनका लागि आवश्यक भवन र हल उपलब्धताका आधारमा एक सिङ्खटमा बढीमा १०० जना परीक्षा गराउने तयारी छ । ट्रायल खुलेपछि सुधारिएको व्यवस्था लागु हुनेछ । विभागले सवारी लाइसेन्सका लागि लिइने लिखित र प्रयोगात्मक दुवै परीक्षा सुधारिएको व्यवस्थामा गर्न लागेको हो ।
विद्यमान लाइसेन्स परीक्षा प्रणालीअनुसार पास हुनका लागि शतप्रतिशत अंक ल्याउनुपर्छ । सो प्रणाली सरलीकृत गरी अब ७० प्रतिशत अंक ल्याए पास हुने व्यवस्था लागू गर्न लागिएको छ । नयाँ व्यवस्थाअनुसार ट्रायल परीक्षामा विभिन्न पक्ष आधार मानेर अंक दिइनेछ । जसमा ट्राफिक लाइट, उकालो– ओरालो, स्पिड ब्रेकर, पार्किङलगायत आधार मानेर अलग–अलग नम्बर दिइने छ । यसका आधारमा जम्मा ७० अंक ल्याउनेले ट्रायल पास गर्नेछन् । गत वर्ष लकडाउनपछि सरकारले अनलाइन प्रणालीमा आवेदन खुलाएको थियो ।
अनलाइनमार्फत ट्रायलका लागि आवेदन दिनेले पालो कुर्दाकुर्दै कोरोना दोस्रो भेरियन्ट संक्रमण बढेपछि पुनः बन्द गरिएको थियो । विभागले पछिल्लो पटक अनलाइन आवेदन पनि बन्द गरेको छ । विभागका अनुसार ट्रायल खुल्ने टुंगो लागेपछि पुनः अनलाइन आवेदन खुलाउने तयारी छ । सरकारले गत वर्ष कोरोना नियन्त्रणका लागि लकडाउन गरेसँगै सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा बन्द गरेर पुस २०७७ मा नौ महिनापछि खुलाएको थियो ।
कोरोना संक्रमण वृद्धि भएपछि सरकारले पुनः वैशाख दोस्रो सातादेखि लाइसेन्सका लागि लिने परीक्षा स्थगित गरेको थियो । बाग्मती प्रदेश अन्तर्गतको यातायात व्यवस्था कार्यालयले एक सुूचना प्रकाशित गरेर अर्को सूचना जारी नहुँदासम्मका लागि परीक्षा स्थगित गरिएको जनाएका थिए ।