खानेपानीवालिङ

वालिङ । व्यवस्थित र शुद्ध खानेपानीको अभाव झेल्दै आएका स्याङ्जाको वालिङका बासिन्दाले घर–घरमा खानेपानीको धारा जडान गरिएपछि राहत महसुस गरेका छन् । वालिङ नगरपालिका–२ का राक्से, सिमलचौपारी र फुटेढुंगाका एक सय घरधुरीमा एक घर, एक धारा निर्माण गरिएसँगै खानेपानीको सहजता भएको हो ।

नगरपालिकाको ३२ लाख ५० हजार र स्थानीय उपभोक्ताबाट नौ लाख ५० हजार रुपैयाँ गरी कुल ४० लाख रुपैयाँको लागतमा तीन वर्षमा खानेपानी योजना सम्पन्न भएको वडाध्यक्ष पोतप्रसाद लम्सालले जानकारी दिए ।

‘ठूलो बस्ती रहेको यहाँका नागरिकलाई खानेपानीको निक्कै समस्या थियो,’ वडाध्यक्ष लम्सालले भने, ‘वडामा हामी निर्वाचित भएसँगै खानेपानीलाई प्राथमिकतामा राखेर काम गर्‍यौं र अहिले प्रत्येक घरमा धारा जडान गरी चौबीसै घण्टा शुद्ध खानेपानी उपलब्ध गराउन सफल भएका छौं ।’

झल्र्याङ्दी मूलबाट करीब डेढ किलोमिटर टाढाबाट पानी ल्याई केराबारीमा ७० हजार लिटर क्षमताको ट्यांकी निर्माण गरी त्यहींमार्फत घर–घरमा पानी वितरण गरिएको वडाध्यक्ष लम्सालले बताए । स–साना मूलबाट टुक्राटुक्री पाइप जोडेर केही घरले पानी खाने गरे पनि उक्त पानी शुद्ध नभएको र अधिकांशले टाढाबाट बोकेर पानी खानुपर्ने बाध्यता रहेको राक्से, सिमलचौपारी, फुटेढुंगा खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष बोधराज रेग्मीले बताए ।

स्थानीयवासीले प्रतिघर पाँच हजारका दरले रकम संकलन गरी मूल रहेको १२ आना जग्गा खरिद गरेका छन् । खानेपानी वितरण तथा मर्मतका लागि प्रतिघरपरिवार मासिक ६० रुपैयाँ संकलन गरिएको छ । त्यसले खानीपानी खोल्ने र बन्द गर्ने कर्मचारीलाई पारिश्रमिक तथा मर्मतसम्भारका लागि खर्च गर्ने गरिएको समितिका अध्यक्ष रेग्मीले बताए । –रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!