एमआरआईजनकपुरधामप्रादेशिक अस्पतालमधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान

जनकपुर । प्रादेशिक अस्पताल जनकपुरधाममा एमआरआई मेसिन खरिद प्रक्रियामा व्यापक अनियमितता भएको छ ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्ग प्रादेशिक अस्पतालमा एमआरआई मेसिन खरिद प्रक्रियामा एक कम्पनीसँग मात्र मिल्ने स्पेशिफिकेशन बनाएर नीतिगत भ्रष्टाचार गरेको देखिएको छ।

अस्पतालले गत जेठ महिनाको ७ गतेको बोलपत्र आह्वानमा अन्य कम्पनीहरुसँग मेल नखाने स्पेशिफिकेशन बनाएर खरिद प्रक्रिया एउटा कम्प्नीलाई मात्र सहभागी गराउन व्यापक आर्थिक लेनदेन भएको अस्पतालकै कर्मचारीहरु बताउँछन् ।

समाजिक विकास मन्त्रालय मातहतको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत प्रादेशिक अस्पतालले एमआरआई स्पेसिफिकेशन बनाउँदा फिलिप्स इन्डिपेन्डेन्ट ईन्जिनियर्स एम्बिसनसँग मात्र मिल्ने शर्त राखेर खरिद प्रक्रिया आह्वान गरेको छ । उदाहरणका लागि न्यूनतम आरआफ रिसिभ च्यानल ४० इन्डिपेन्डेन्ट, स्पाई एर्रे/म्याट्रिक्स कोईल ४०, बिल्ट्रल ब्रेष्ट ७ च्यानल शर्त राखेको छ । यस्तो शर्त राखेर खरिद प्रक्रियामा एउटा बाहेक अन्य कम्पनीलाई सहभागी नै हुन नदिने चलखेल भएको ईस्टवेस्ट कन्सर्न प्राईभेट लिमिटेडका एप्लिकेशन स्पेशलिष्ट सुदीप थापाको आरोप छ ।

बोलपत्रमा तोकिएका एफओभी ४५ सिएम, डिडब्लुआई ३२, एफओभी ३५, रिजिड नि कोईल्स ८ च्यानल जस्ता सम्पूर्ण शर्त फिलिप्स ईण्डिपेन्डेन्ट ईन्जिनियर्स एम्बिसनसँग मात्र मिल्छ । फिलिप्स कम्पनी बाहेक अन्य कम्पनीसंग मेल नखाने हुँदा प्रतिस्पर्धा गर्न पाउँदैनन । एक सप्लायर्सले भने, ‘हामीले मुख्यमन्त्री कार्यालय देखि समाजिक विकास मन्त्रालय सम्म चहार्‍यौँ, केही सीप चलेन, आर्थिक चलखेलको आधारमा एउटा निश्चित कम्पनीलाई पर्ने सुविधा र शर्त सहित प्रस्तावना पत्र आव्हानमा ठूलो चलखेल भएको छ ।’

बोलपत्रमा एफओभी ५० सिएमलट, बिल्ट्रल ब्रेष्ट कोयल १६ च्यानल, रिगिङ्ग नी कोयल्स १६ च्यानल बढी क्षमता भएका उपकरणलाई समेत प्राथमिकता दिएको छैन । जबकि फिलिप्सको एफओभी ४५ सिएमलट, बिल्ट्रल ब्रेष्ट कोयल ७ च्यानल, रिगिङ्ग नी कोयल्स ८ च्यानल कम क्षमता भएको उपकरणलाई समेत छनोट गरिएको छ । ‘समाजिक विकास मन्त्रालयदेखि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रादेशिक अस्पताल सम्मको आर्थिक चलखेलमा एक कम्पनी क्वालिफाईड हुने स्पेसिफिकेशन राखेका छन’ एक उच्च पदस्थ पदाधिकारीले भने ।

एमआरआई खरिदमा प्रादेशिक अस्पतालले भ्याट सहित १७ करोडमा बोलपत्र प्रस्ताव आह्वान गरेको छ । शर्तअनुसार एमआरआईको बजार मुल्य १२ करोड देखि १४ करोड पर्न जाने प्राविधिकको भनाइ छ, तर त्यसलाई कमिसनकै चलखेलमा १७ करोड बनाइएको अस्पताल श्रोतको दावी छ । समाजिक विकास मन्त्रालय नवल किशोर साहदेखि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह र प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. प्रमोद कुमार यादव सम्मको मिलोमतोमा सेटिङ मिलाइएको दावी छ । एमआरआई मेसिनको खरिद प्रक्रियामा समाजिक विकास मन्त्रीका नवल किशोर साहका छोरा सुमित साहले बोलपत्रदेखि स्पेशिफिकेशन र कमिसनको कुरामा समेत संलग्न भएको श्रोतको दावी छ ।

अस्पतालले बोलपत्र आह्वान चित्त नबुझेपछि सप्लायर्सहरुले मुख्यमन्त्री कार्यालयदेखि अर्थ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयमा समेत ज्ञापनपत्र बुझाएको छ । तर मन्त्रालयले प्रादेशिक अस्पताललाई एमआरआई खरिदको अनुमति दिइसकेकाले आफूहरुले केही गर्न नसक्ने बताउँदै आएको छ । मन्त्रालयका उप–सचिव तथा प्रवक्ता ठूलोबाबु दाहालले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको राय, सुझाव माग गरेर खरिद प्रक्रिया अघि बढाइएको बताए ।

‘१० करोड भन्दा बढीको खरिदमा मन्त्रालयको सहमति अनविार्य हुन्छ, प्रतिष्ठानको राय, सुझावको आधारमा सहमति दिने नदिने निर्भर हुन्छ, प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहले किन्ने राय सल्लाह दिएपछि हामीले सहमति दियौं’ दाहालले भने ।

तर मधेश स्वास्थ्य प्रतिष्ठानका उपकुलपति रामकेवल साहले कानूनी रुपमा प्रादेशिक अस्पताल प्रतिष्ठान अन्तर्गत नआएकोले कुनै सुझाव नदिइएको बताए । ‘टेक्निकल राय दिन प्रावधान भए पनि प्रतिष्ठानमा प्रादेशिक अस्पताल कानूनी रुपमा नआएकोले कुनै सल्लाह सुझाव दिएका छौनौँ, व्यवहारिक तथा मौखिक रुपमा जनताको सेवा सुविधाका लागि राय दिए पनि लिखित रुपमा कुनै राय-सल्लाह पठाएको छैनौँ ।’

यता प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. प्रमोद कुमार यादवले प्रतिष्ठानको राय सुझाव सहित मन्त्रालयको सहमतिपछि मात्र खरिद प्रक्रिया अघि बढाइएको जानकारी दिए । उनले भने, ‘खरिद प्रक्रियामा कुनै विवाद छैन, लोकतन्त्र हो, जसले पनि आफ्नो कुरा राख्न पाउँछ, त्यसमा कसैलाई चित्त बुझेन भने हामी केही गर्न सक्दैनौँ ।’ यसबारे यादवले केही बोल्न चाहेनन् ।

समाजिक विकास मन्त्रालय र प्रादेशिक अस्पताल जनकपुरले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको राय सल्लाहमा एमआरआई मेसिन खरिद गर्न लागिए पनि प्रतिष्ठानका उपकुलपति डा. रामकेवल यादवले खरिद प्रक्रियामा आफूहरुको कुनै संलग्नता नरहेको दावी गरे । खरिद प्रक्रियामा प्रतिष्ठानको राय सल्लाह विना उकपरण खरिद गर्न नपाउने प्रावधान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!