जनकपुरधाम। मधेश प्रदेशका जिल्लामा स्थानीय प्रशासनले ग्यासको आपूर्ति सहज बनाउन अनुगमन तीव्र बनाएको छ ।

बर्दीबास समाचारदाता रवीन्द्र उप्रेतीका अनुसार  महोत्तरीका  प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा खटिएको टोलीले शनिबार साँझसम्म जिल्लाका १५ वटै स्थानीय तहमा रहेका ११७ वटा ग्यास डिपोको स्थलगत अनुगमन गरेको छ । त्यस क्रममा सबै डिपोमा मौज्दात रहेका २८ हजार ७४५ वटा ग्यास सिलिन्डरमध्ये २३ हजार ९३६ वटा खाली अवस्थामा फेला परेका थिए । भरिएका ग्याससहितका सिलिन्डरको सङ्ख्या भने जिल्लाभरमा एक हजार ३५३ वटा मात्रै पाइएको थियो । प्रशासनले सार्वजनिक गरेको अनुगमन प्रतिवेदन अनुसार भरिएका सिलिन्डर सबैभन्दा बढी सीमावर्ती समसी गाउँपालिकामा २८८ थान मौज्दात पाइएको छ ।

सबैभन्दा कम बर्दीबासमा १० वटा मात्रै ग्याससहितका सिलिन्डर भेटिएका थिए । प्रशासनका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा नेपाल, नारायणी, नोबेल, जगदम्बा, अम्बर, सुपर, प्रिमा, मनोज, कागमाया र लियोलगायतका ब्रान्डका खाना पकाउने ग्यास कारोबार हुँदै आएको छ । जिल्लाभर करिब एक महिनादेखि ग्यासको चरम अभाव देखिए पनि अनुगमनका क्रममा कालोबजारी भएको नपाइएको प्रशासनको निष्कर्ष छ । प्रमुख जिल्ला अधिकारी यादवले अनुगमनका क्रममा ग्यासको आपूर्ति तथा वितरणमा कुनै कैफियत नदेखिएको बताउनुभयो ।

उहाँका अनुसार डिपोमा आपूर्ति भएको ग्यास उपभोक्ताले सहज रूपमा प्राप्त गरिरहेको पाइएको छ । केही उपभोक्ताले आफ्नो नियमित आवश्यकताभन्दा बढी ग्यास घरमै सञ्चय गरेर राख्ने प्रवृत्ति देखिएको अनुगमन टोलीमा सहभागी बर्दीबास नगरपालिकाका प्रतिनिधि पवनकुमार कार्कीले बताउनुभयो । बर्दीबासस्थित इलाका प्रशासन कार्यालयका प्रमुख माधव न्यौपानेले उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चय गर्ने प्रवृत्तिले बजारमा कृत्रिम अभावको अवस्था सिर्जना गर्न सक्ने हुँदा उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न आग्रह गरेको जानकारी दिनुभयो ।

बर्दीबासस्थित एलपी ग्यास व्यवसायी सङ्घका अध्यक्ष सरोज श्रेष्ठले भन्नुभयो, “मेरो डिपोमा आइतबार बिहानसम्म आठ सय जनाको बुकिङ भइसकेको छ । गएराति जगदम्बाको २०४ सिलिन्डर ग्यास आएको थियो । बिहान एक घण्टा पनि लागेन केहीबेरमै सबै सिलिन्डर सकिए ।” अर्कोतर्फ सिन्धुली जिल्लाका दक्षिणी भेग र महोत्तरीसँग सीमा जुटेका धनुषा जिल्लाका उपभोक्तासमेत ग्यासको अभाव टार्न बर्दीबास आउने गरेकाले पनि एलपी ग्यासको माग र आपूर्ति असन्तुलित भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

डिलरमा छड्के अनुगमन 

चन्द्रपुर समाचारदाता प्रवीणकुमार शर्माका अनुसार बजारमा ग्यासको अभाव देखिएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लामा  ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित गर्न ग्यास डिलरमा नियमित अनुगमन सुरु गरेको  छ । जनताको गुनासो आएपछि शनिबारदेखि जिल्लाका विभिन्न ग्यास डिलरमा अनुगमन सुरु गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी भुसाल नेतृत्वको टोलीले गौर, गरुडा तथा चन्द्रनिगाहपुर क्षेत्रका ग्यास डिलरमा छड्के अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय रौतहटका नायब सुब्बा रामनरेश साहले बताउनुभयो  । जिल्लाका १७ वटा ग्यास डिलरमा अनुगमन गरिएको उहाँले जानकारी दिनुभयो  ।

अनुगमनका क्रममा अधिकांश ग्यास विक्रेताका स्टोरमा खाली सिलिन्डर रहेको पाइएको नायब सुब्बा साहले बताउनुभयो । माग अनुसार ग्यास उपलब्ध नभएकोले अभाव भएको जानकारी अनुगमन टोलीलाई गराइएको उहाँले उल्लेख गर्नुभयो ।

अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी भुसालले  ग्यास आपूर्ति भएपछि उपभोक्तालाई पारदर्शी, व्यवस्थित र सहज रूपमा वितरण गर्न डिलरलाई निर्देशन दिनुभएको छ । आपूर्ति भएको ग्यास उचित तरिकाले वितरण गर्न व्यवसायीलाई सचेत गराइएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत मनिभूषण साहले बताउनुभयो ।

बिक्री खाता अव्यवस्थित

राजविराज समाचारदाता धीरेन्द्रप्रसाद साहका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवको नेतृत्वमा संयुक्त अनुगमन टोलीले पछिल्ला दुई दिनमा जिल्लाका विभिन्न स्थानमा रहेका ग्यास डिलर तथा सबडिलरको अनुगमन गरेको हो । अनुगमन टोलीले राजविराज, हनुमाननगर, भारदह, कञ्चनरूप, विष्णुपुर, राजगढ तथा शम्भुनाथस्थित ट्राफिक चोकलगायतका स्थानमा रहेका ग्यास विक्रेताको स्थलगत निरीक्षण गरेको छ । टोलीमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सन्तोष राय, सप्तरी उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, सुरक्षाकर्मी तथा सम्बन्धित स्थानीय तहका प्रतिनिधिको सहभागिता रहेको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी यादवले ग्यासको कालोबजारी गरेको ठोस प्रमाण भने फेला नपरेको बताउनुभयो । अधिकांश विक्रेताले मूल्यसूची नराखेको, खरिदबिक्री खाता व्यवस्थित रूपमा नराखेको, राखिएका खाता पनि अद्यावधिक नगरेको तथा उपभोक्तालाई बिलबिजक जारी नगरेको पाइएको उहाँले जानकारी दिनुभयो । बिलबिजक जारी नगरेका हनुमाननगरका दुई वटा ग्यास डिलरलाई आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन पत्र काटिएको उहाँले बताउनुभयो ।

सहायक प्रजिअ यादवका अनुसार माग अनुसार ग्यास कम्पनीबाट आपूर्ति नहुनु प्रमुख कारण देखिएको छ । डिलरले माग गरे अनुसार कम्पनीले ग्यास उपलब्ध नगराउने, डिलरलाई तोकिएको कोटाभन्दा कम मात्रामा सिलिन्डर पठाउने तथा थोरै थोरै परिमाणमा ग्यास आपूर्ति गर्ने गरेका कारण वितरण प्रणाली प्रभावित भएको उहाँले बताउनुभयो । सप्तरीमा दुहबी, जमुनाह, इटहरी र विराटनगरलगायतका स्थानबाट विभिन्न कम्पनीका एलपी ग्यास ल्याएर बिक्रीवितरण हुँदै आएको छ ।

प्रशासनले ग्यास डिलर तथा विक्रेतालाई मूल्यसूची अनिवार्य रूपमा राख्न, खरिदबिक्रीको विवरण नियमित रूपमा अद्यावधिक गर्न तथा प्रत्येक कारोबारको बिलबिजक जारी गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय