सिरहा। बिहीबार बिहान गोलबजार खुल्दै गर्दा सडकमा सामान्य चहलपहल देखिन्थ्यो। तर बजारभित्र प्रवेश गर्ने जोकोहीले पनि त्यहाँको असामान्य तनाव सहजै महसुस गर्न सक्थ्यो। पूर्व–पश्चिम राजमार्गका ठाउँ–ठाउँमा टायर बलिरहेका थिए।

संगठित जस्ता देखिने एउटा समूह र केही स्थानीयले सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका थिए।

साउन ११ गतेदेखि जारी आन्दोलन त्यस दिन बिहानसम्म प्रदर्शनकै स्वरूपमा थियो। केहीबेर नाराबाजी हुन्थ्यो, सडक अवरुद्ध गरिन्थ्यो र फेरि अवस्था सामान्यजस्तै देखिन्थ्यो। तर बिहीबार दिउँसो गोलबजारले हिंसा, आगजनी र त्रासको कहालीलाग्दो दृश्य देख्यो।

करिब २ बजेतिर गोलबजार नगरपालिका–४ स्थित एक पसल अगाडि एउटा समूह जम्मा भएको थियो। केही पर ढुनमुन होटल अगाडि अर्को समूह उभिएको थियो। दुवैतर्फबाट चर्को नाराबाजी भइरहेको थियो।

दुई समूहको बीचमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति थियो। केही समयसम्म दुवै समूह एकअर्कातर्फ हेर्दै, नाराबाजी र भनाभन गर्दै उभिए। सुरक्षाकर्मी पनि बीचमा रहेकाले अवस्था नियन्त्रणमै रहेको जस्तो देखिन्थ्यो।

तर त्यो स्थिति धेरैबेर टिकेन।

एक्कासि दुई समूहबीच लखेटालखेट सुरु भयो। केही मिनेटमै ढुंगामुढा चल्न थाल्यो। त्यसपछि भीडको एउटा हिस्सा नेपाल टेलिकमको कार्यालयनजिक पार्किङमा राखिएका मोटरसाइकलतर्फ दौडियो।

हेर्दाहेर्दै करिब २१ वटा मोटरसाइकलमा तोडफोड भयो। केही समयमै मोटरसाइकलमा आगो लगाइयो र आगोको मुस्लोसहित बाक्लो धुवाँले राजमार्ग ढाक्यो। दमकलले आगो निभाउने प्रयास गरिरहँदा सडकमा भागदौड मच्चिएको थियो।

त्यतिन्जेल नेपाली सेना पनि सडकमा परिचालन भइसकेको थियो। जिल्ला प्रशासन कार्यालयले गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरिसकेको थियो। खुलेका पसलका सटर धमाधम बन्द हुन थाले। सर्वसाधारण ज्यान जोगाउन घरभित्र र सुरक्षित स्थानतर्फ दौडिरहेका थिए।

झडपपछि प्रदर्शनकारीहरू क्याम्पस रोडतर्फ पुगे। केहीबेर त्यहाँको अवस्था फेरि सामान्यजस्तै देखिएको प्रत्यक्षदर्शी बताउँछन्। मानिसहरू साना–साना समूहमा उभिएर कुराकानी गरिरहेका थिए। केहीले नाराबाजी गरिरहेका थिए भने सुरक्षाकर्मीले उनीहरूको गतिविधि निगरानी गरिरहेका थिए।

तर त्यसपछि गोली चल्यो।

प्रत्यक्षदर्शीका अनुसार गोली लागेर सिरहाको औरही गाउँपालिका, तुलसियाहीका १५ वर्षीय गणेश यादव र धनुषाको धनुषाधामका सुभाष ठाकुर घाइते भए। गोली कसले, कुन परिस्थितिमा र कस्तो अवस्थामा चलाएको थियो भन्ने विषयको स्वतन्त्र पुष्टिका लागि अनुसन्धान हुन बाँकी छ।

गोली लागेलगत्तै घटनास्थलमा फेरि भागदौड मच्चियो। प्रदर्शनकारीहरूले नै दुवै घाइतेलाई उठाएर अस्पतालतर्फ लगे। केही समयपछि गणेश यादवको मृत्यु भएको खबर फैलियो।

त्यसपछि गोलबजारको अवस्था थप तनावपूर्ण बन्यो।

आक्रोशित भीड बजारका विभिन्न भागमा फैलियो। कतै पसलका सटर फुटाइए, कतै होटल तथा व्यावसायिक संरचनामा तोडफोड भयो। केही घर र व्यापारिक संरचनामा समेत तोडफोड तथा आगजनी भएको स्थानीयले बताएका छन्।

साँझ पर्दासम्म गोलबजार धुवाँ, अश्रुग्यास र साइरनको आवाजले भरिएको थियो।

साँझ ७ बजेतिर सुरक्षाकर्मीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन पटक–पटक अश्रुग्यास प्रहार गरे। घटनास्थलमा रहेका व्यक्तिहरूका अनुसार १५ देखि २० राउन्डसम्म अश्रुग्यास प्रहार गरिएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा भीड नियन्त्रणको प्रयास गरेपछि प्रदर्शनकारीहरू विस्तारै सडकबाट हट्न थाले।

गणेश यादवको शव नजिकै बसेका आफन्तहरू भने दोषीलाई कारबाहीको सुनिश्चितता नभएसम्म शव नउठाउन माग गर्दै रोइरहेका थिए। शव नियन्त्रणमा लिने क्रममा प्रहरी र आफन्तबीच धकेलाधकेल भएको प्रत्यक्षदर्शीले बताएका छन्।

अन्ततः प्रहरीले शव नियन्त्रणमा लिएर गाडीमा राख्यो र नेपाली सेनाको श्री नन्दबक्स गण, चोहर्वा ब्यारेकतर्फ लगियो।

झडपमा घाइते भएका धनुषाका सुभाष ठाकुरलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक वासुदेव पाठकका अनुसार घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका १२ देखि १५ जना सुरक्षाकर्मी पनि घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालको मुखमा चोट लागेको र ६ वटा टाँका लगाइएको प्रहरीले जनाएको छ।

बिहीबार राति गोलबजार सुनसान थियो। सडकमा जलेका मोटरसाइकल, फुटेका सिसा, अश्रुग्यासका खोल र सुरक्षाकर्मीको गस्ती मात्र देखिन्थे।

बिहान सामान्य नाराबाजीबाट सुरु भएको प्रदर्शन साँझसम्म आइपुग्दा गोली, मृत्यु, आगजनी र कर्फ्युमा बदलिएको थियो। दिनभरको घटनाले एउटा गम्भीर प्रश्न छाडेको छ- सुनसरीबाट सुरु भएको आक्रोश गोलबजारसम्म आइपुग्दा किन र कसरी यति हिंसात्मक बन्न पुग्यो?

यसको उत्तर निष्पक्ष र विश्वसनीय अनुसन्धानले दिन सक्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय