शुभ नारायण कामती
सिरहा, १४ साउन । सिरहाको गोलबजार क्षेत्रमा पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी आदेशअनुसार आज साउन १४ गते दिउँसो २:०० बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यु लागू रहनेछ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी आदेशअनुसार कर्फ्यु पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका–३ को कसहा खोला क्षेत्रदेखि पश्चिमतर्फ चौहर्वा चोकसम्म, उत्तरतर्फ गोलबजार नगरपालिका–६ को सैनिक चोकदेखि दक्षिणतर्फ गोलबजार नगरपालिका–४ स्थित राजेन्द्र प्रसाद राष्ट्रिय बहुमुखी क्याम्पस वरपरको क्षेत्रमा लागू गरिएको छ।
जिल्ला प्रशासनले आन्दोलन तथा सम्भावित हिंसात्मक गतिविधिका कारण शान्ति–सुरक्षा र सार्वजनिक सुव्यवस्थामा प्रतिकूल असर पर्न सक्ने अवस्थालाई दृष्टिगत गर्दै कर्फ्यु जारी गरिएको जनाएको छ।
प्रशासनले नागरिकलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न, अफवाह तथा भ्रामक सूचनामा विश्वास नगर्न र शान्ति–सुव्यवस्था कायम राख्न सहयोग गर्न आग्रह गरेको छ। साथै, कर्फ्यु आदेशको उल्लङ्घन गरी कुनै पनि गतिविधि गरेमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।




