काठमाडौं । नेकपा (एमाले) ले राष्ट्रिय मानवअधिकार आयोगको एक सिफारिस संविधान, प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय मानवअधिकारका मान्यतासँग मेल नखाने भन्दै सच्याउन माग गरेको छ।
एमालेका केन्द्रीय सदस्य महेश बर्तौलाले बिहीबार राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरलाई आयोगको हरिहर भवन, पुल्चोकस्थित कार्यालयमा भेटेर पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट औपचारिक निवेदन दर्ता गराएका हुन्।

बर्तौलाका अनुसार आयोगले २०८२ साल भदौ २३ र २४ गतेको घटनासम्बन्धी गरेको निर्णय नम्बर १७७ पूर्वाग्रहपूर्ण, असंवैधानिक तथा कानुनी आधारविपरीत रहेको दाबी गर्दै उक्त सिफारिस सच्याउन माग गरिएको छ।
निवेदनमार्फत यसअघि माग गरिएका कागजात तथा प्रतिवेदनको प्रतिलिपि आयोगले पूर्ण रूपमा उपलब्ध नगराएको भन्दै थप कागजात उपलब्ध गराउन पनि आग्रह गरिएको छ। विशेषगरी लिली थापाको नेतृत्वमा गठित छानबिन समितिले आयोगलाई बुझाएको भनिएको प्रतिवेदनको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन माग गरिएको बर्तौलाले जानकारी दिए।
यस्तै, उक्त प्रतिवेदनका कुन–कुन अंश आयोगले स्वीकार गरेको, कुन अंश हटाएको वा थप गरेको तथा त्यसका आधार र कारणसम्बन्धी सम्पूर्ण कागजातको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन पनि निवेदनमा माग गरिएको छ।
यसका साथै आयोगले उक्त विषयमा थप छानबिन, अनुसन्धान वा अध्ययन गरेको भए त्यससँग सम्बन्धित प्रतिवेदन तथा अन्य सम्बन्धित कागजातहरूको प्रमाणित प्रतिलिपि पनि उपलब्ध गराउन आग्रह गरिएको बर्तौलाले बताएका छन्।
एमालेले आयोगसमक्ष दर्ता गरेको निवेदनको विवरण सञ्चारमाध्यममार्फत सार्वजनिक गर्दै आफूहरूले आयोगको निर्णयमाथि आवश्यक पुनरावलोकन र पारदर्शिताको अपेक्षा गरेको जनाएको छ।



