प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बुधबार निजीक्षेत्रका उद्योग व्यवसायीहरू प्रत्यक्ष भेटघाट तथा छलफल कार्यक्रम राखेका छन् । सरकारको वित्त नीति (बजेट) पछि हिजो मंगलबार मात्र नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ ।
योसँगै लगत्तै प्रधानमन्त्री बालेनले निजीक्षेत्रका व्यवसायीहरूलाई सिंहदरबारमा डाकेर बैठक राख्नुलाई निकै अर्थपूर्ण मानिएको छ । देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजीक्षेत्रको आत्मविश्वास बढाउन प्रमुख उद्योगी तथा व्यवसायीहरूसँग प्रधानमन्त्रीले प्रत्यक्ष संवाद गर्न लागेको प्रधानमन्त्रीको सचिवाललयले जानकारी दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साढे ११ बजे आयोजना हुन लागेको उक्त उच्चस्तरीय बैठकमा देशको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण र सरकारी–निजीक्षेत्रको सहकार्यका विषयमा गहन छलफल हुने बताइएको छ । बैठक साढे ११ बजे सुरु भएको छ ।
को–को व्यवसायी सहभागी छन् ?
बैठकमा निजीक्षेत्रको नेतृत्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अन्जन श्रेष्ठ र एफएनसीसीआईका उद्योग समिति सभापति उज्ज्वल कुमार श्रेष्ठ सहभागी छन् ।
यसैगरी नेपाल उद्योग परिसंघ (सीएनआई) का निवर्तमान अध्यक्ष राजेश कुमार अग्रवाल र महानिर्देशक डा. घनश्याम ओझा सहभागी छन् ।
नेपाल चेम्बर अफ कमर्स (एनसीसी) का अध्यक्ष कमलेश कुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मलहोत्रा सहभागी छन् । यसैगरी अन्य उद्योगी व्यवसायीहरूको समेत सहभागीता रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।



