सिरहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन कञ्चनपुर–कमला सडक विस्तार आयोजनामा भएको लामो ढिलासुस्तीविरुद्ध सिरहाको गोलबजार नगरपालिका–४ निपनियामा स्थानीयवासी आन्दोलित बनेका छन् । सडक निर्माण वर्षौंदेखि अलपत्र परेपछि आक्रोशित स्थानीयले शुक्रबार बिहान टायर बालेर प्रदर्शन गर्दै राजमार्ग अवरुद्ध गरेका हुन् ।
स्थानीय नागरिक, व्यवसायी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी प्रदर्शनका कारण करिब साढे एक घण्टा पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको थियो । प्रदर्शनपछि निर्माण कम्पनी र स्थानीय तहका प्रतिनिधिसँग छलफल गर्ने सहमति भएपछि सडक सञ्चालनमा आएको थियो ।
स्थानीयका अनुसार ‘चाइना रेलवे नं. २ इन्जिनियरिङ ग्रुप’ ले ठेक्का लिएको झण्डै सात वर्ष बितिसक्दा पनि सडक निर्माणले पूर्णता पाउन सकेको छैन । सडक निर्माणमा चरम ढिलाइ हुँदा सर्वसाधारणले दैनिक रूपमा धुलो, हिलो र अव्यवस्थित सडकको सास्ती भोग्नुपरेको उनीहरूको गुनासो छ ।
स्थानीयका अनुसार सामान्य वर्षा हुँदा समेत सडक हिलाम्मे भएर सवारी आवागमन अवरुद्ध हुने गरेको छ । “विद्यार्थी विद्यालय जान सकिरहेका छैनन्, पानी र हिलोका कारण विभिन्न रोग तथा छालासम्बन्धी समस्या बढेका छन्,” उनले भने ।
आन्दोलनमा सहभागी स्थानीय एक नेताका अनुसार निर्माण कम्पनीको लापरवाहीका कारण जनजीवन प्रभावित भएको बताए । उनका अनुसार आन्दोलनपछि बिहान १० बजे निर्माण कम्पनीका प्रतिनिधि तथा स्थानीय तहका पदाधिकारीसँग समस्या समाधानका लागि छलफल गर्ने सहमति भएको थियो ।
“यदि बैठकबाट सन्तोषजनक निष्कर्ष निस्किएन भने अझ कडा आन्दोलनमा उत्रिन्छौं,” उनले चेतावनी दिए ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने मिर्चैया, गोलबजार, लहान लगायतका मुख्य बजार क्षेत्रमा सडक निर्माण अधुरै रहँदा यात्रु, व्यापारी तथा स्थानीय बासिन्दाले वर्षौंदेखि सास्ती खेपिरहेका छन् । धुलाम्मे सडक, अव्यवस्थित निर्माण तथा हिलोका कारण दैनिक जनजीवन प्रभावित बनेको छ ।
एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा निर्माण भइरहेको कञ्चनपुर–कमला सडक विस्तार तथा स्तरोन्नति आयोजना ८६.८३ किलोमिटर लामो रहेको छ । नेपाल सरकार र निर्माण कम्पनीबीच २०७७ असार ११ गते सम्झौता हुँदा आयोजना २०८० कात्तिक ११ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, निर्धारित समय बितिसक्दा पनि आयोजना अधुरै रहेको छ ।
आयोजना ढिलाइ हुनुमा निर्माण कम्पनीको सुस्त कार्यशैली, वित्तीय समस्या, कोरोना महामारी, रुख कटानमा भएको ढिलाइ तथा विद्युत् पोल सार्ने काम समयमै सम्पन्न हुन नसक्नु मुख्य कारण रहेको जनाइएको छ ।
आयोजनाको म्याद यसअघि दुई पटक थपिइसकेको छ भने पछिल्लो पटक थपिएको ६ महिनाको अवधि आगामी असार १६ गते सकिँदैछ । तर हालसम्म आयोजनाको भौतिक प्रगति करिब ६८ प्रतिशत मात्र पुगेको छ । अझै ३२ प्रतिशत काम बाँकी रहेकाले चौथो पटक पनि म्याद थपिन सक्ने संकेत देखिएको छ ।
पूर्वी खण्ड सडक योजना कार्यालयका प्रमुख निरज शाक्यका अनुसार ३९.४२ किलोमिटर सडकखण्डमध्ये हालसम्म २४.५८ किलोमिटरमा मात्रै कालोपत्रे सम्पन्न भएको छ । त्यसैगरी पश्चिमी खण्डका सूचना अधिकारी अनुपमकुमार साहका अनुसार ४७.४१ किलोमिटरमध्ये ३५.६१ किलोमिटर सडकमा मात्र कालोपत्रे गरिएको छ ।
निर्माणमा भएको ढिलाइले आयोजनाको लागतसमेत उल्लेख्य रूपमा बढाएको छ । सुरुमा १५ अर्ब ६६ करोड रुपैयाँ लागत अनुमान गरिएको परियोजनामा हालसम्म झण्डै ३ अर्ब रुपैयाँ अतिरिक्त खर्च भइसकेको छ ।
एडीबी नेपाल निर्देशनालयका सूचना अधिकारी ध्रुवकुमार श्रेष्ठका अनुसार प्राविधिक निगरानी, परामर्शदाता सेवा विस्तार तथा साइट व्यवस्थापनमा भएको अतिरिक्त खर्चका कारण आयोजनाको लागत १८.९८ प्रतिशतले बढेर २ अर्ब ९७ करोड २२ लाख रुपैयाँ थपिएको छ ।
स्थानीयवासीले तत्काल निर्माण कार्य तीव्र पार्न, धुलो र हिलो नियन्त्रण गर्न तथा निर्धारित समयमै सडक सम्पन्न गर्न सरकार र निर्माण कम्पनीसँग माग गरेका छन् ।




