जनकपुरधाम । संविधान संशोधनमा कानुन व्यवसायीहरूको भूमिका महत्वपूर्ण रहेको विषयमा जोड दिइएको छ।
मुख्य न्यायाधिवक्ताको कार्यालय मधेस प्रदेशको आयोजना तथा जनकपुर बार एसोसिएसनको सह–आयोजनामा आइतवार भएको एक कार्यक्रममा बोल्ने वक्ताहरूले न्याय क्षेत्रसँग सम्बन्धित विषयको संविधान संशेधनमा कानुन व्यवसायीहरूको भूमिका महत्वपूर्ण रहने बताएका हुन्।

कार्यक्रमका मधेस प्रदेश सभाका सभामुख रामअशिष यादवले संविधान संशोधनलाई समयानुकूल बनाउँदै न्याय प्रणालीलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याए।
उनले भने, ‘संविधान कुनै स्थिर दस्तावेज मात्र नभई यो समय र समाजसँगै परिमार्जन हुँदै जाने जीवित दस्तावेज हो। न्याय क्षेत्रको अनुभव र कानुन व्यवसायीहरूको सुझावलाई समेटेर मात्र प्रभावकारी संशोधन सम्भव हुन्छ।’
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्राडा विजय कुमार मिश्रको उपस्थिती रहेको सो कार्यक्रममा मुख्य न्यायाधिवक्ता डा सुनिल रञ्जन सिंहले संविधान संशोधन प्रक्रियामा कानुन व्यवसायीको भूमिका अत्यन्त महत्वपूर्ण रहने कुरामा जोड दिए। उनले भने, ‘न्याय प्रशासनलाई सुदृढ बनाउन व्यवहारिक अनुभवमा आधारित सुझाव आवश्यक हुन्छ।’
संविधान संशोधन राजनीतिक प्रक्रिया मात्र नभई यो राज्य सञ्चालनको न्यायिक आधारलाई अझ मजबुत बनाउने अभ्यास रहेको भन्दै कानुन व्यवसायीहरूको प्रत्यक्ष अनुभवले नीति निर्माणलाई यथार्थपरक बनाउन मद्दत गर्ने बताए।
कार्यक्रममा सहभागी कानुन व्यवसायीहरूले संविधान संशोधन, न्यायिक पहुँच विस्तार तथा न्याय प्रणालीमा देखिएका वर्तमान चुनौतीबारे आफ्ना धारणा राखेका थिए। उनीहरूले यस्ता अन्तरक्रिया कार्यक्रमहरूले नीति निर्माण र कानुनी सुधारमा सकारात्मक प्रभाव पार्ने बताए।
नेपाल बार एसोसिएसन धनुषाका अध्यक्ष विमलकुमार मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेशका आठवटै जिल्लाका बार इकाइका अध्यक्ष तथा सचिवहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा संविधानविद् उपेन्द्र केसी न्यौपाने, मुख्य न्यायाधिवक्ता टेकनारायण कुँवर लगायतले पनि आ–आफ्ना धारणा राखेका थिए।



