काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा नेपालमा ४५ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार साउनदेखि वैशाखसम्म ७ सय २८ परियोजनामार्फत ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको हो ।
गत चैत मसान्तसम्म ६ सय १५ परियोजनामार्फत ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । वैशाख महिनामा मात्रै थप ११३ परियोजनाबाट तीन अर्ब ५२ करोड ३० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा धेरै लगानी प्रतिबद्धता कृषिमूलक उद्योगमा आएको छ । १६ कृषिमूलक परियोजनामा २२ अर्ब ८ करोड ८० लाख रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको छ । पर्यटन क्षेत्रका १८९ परियोजनामा १२ अर्ब ५४ करोड ७० लाख रुपैयाँ, सेवामूलक ५५ परियोजनामा चार अर्ब २३ करोड २४ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।
यस्तै उत्पादनमूलक ४२ परियोजनामा दुई अर्ब ७० करोड रुपैयाँ, पूर्वाधार क्षेत्रको एक परियोजनामा एक अर्ब ६५ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । सूचना प्रविधि क्षेत्रका ४२१ परियोजनामा एक अर्ब ७४ करोड ३८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ भने ऊर्जामूलक दुई परियोजनामा २३ करोड ४२ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।
सबैभन्दा कम लगानी प्रतिबद्धता खनिजमूलक क्षेत्रमा देखिएको छ । दुई परियोजनामा ११ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ ।



