शुभ नारायण कामती
सिरहा । सिरहामा केही संस्थागत विद्यालयले विद्यालय सवारी सञ्चालन सम्बन्धी सरकारी निर्देशिकालाई बेवास्ता गर्दै विद्यार्थीको सुरक्षामा हेलचक्राई गर्दै आईरहेको छ ।

स्कुल बसको नाममा सामान ढुवानीका लागि प्रयोग हुने पिकअप भ्यानमा विद्यार्थी ओसारपसार गरिएको छ । यस प्रकारको लापरबाहीले गर्दा अभिभावक, स्थानीयवासी तथा सरोकारवालाले निकायको भूमिकामाथि प्रश्न उठाएको छ । सदरमुकाम सिरहासहित जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालित केही निजी विद्यालयले ‘स्कुल बस सेवा’ का नाममा मापदण्ड विपरीत सवारी प्रयोग गरिरहेको छ । विशेषगरी पिकअप भ्यान, पुराना तथा मापदण्ड नपुगेका सवारीमा बालबालिकालाई क्षमता भन्दा वढी कोचाकोच गरी राखेर विद्यालय ल्याउने–लग्ने गरिएको पाइएको हो ।

 

विद्यालयले नियमित रूपमा बसको शुल्क अभिभावकवाट असुल्ने गरेपनि विद्यार्थीलाई सुरक्षित तथा मापदण्ड अनुसारको सवारी उपलब्ध गराइएको छैन । “विद्यालयले स्कुल बसको नाममा शुल्क लिन्छ, तर बच्चालाई सामान बोक्ने गाडीमा हालेर पठाइन्छ,” एक अभिभावकले गुनासो गरे, “यदि दुर्घटना भयो भने यसको जिम्मेवारी कसले लिने ?”

सिरहा सदरमुकाम क्षेत्रमा सञ्चालित करिब आधा दर्जन संस्थागत विद्यालयले सामान ढुवानीमा प्रयोग हुने पिकअप भ्यानमार्फत विद्यार्थी ओसारपसार गरिरहेका छन् । यस्तै, विष्णुपुर गाउँपालिका लगायत अन्य क्षेत्रमा पनि निर्देशिका विपरीत विद्यालय सवारी सञ्चालन भइरहेको छ । विद्यालय सवारी सञ्चालनसम्बन्धी निर्देशिका अनुसार विद्यार्थी बोक्ने सवारीसाधनमा अनिवार्य रूपमा सुरक्षा मापदण्ड पूरा भएको हुनुपर्छ । सवारीमा प्राथमिक उपचार (फस्ट एड) सामग्री, आपतकालीन ढोका, निर्धारित सिट क्षमता, प्रशिक्षित चालक तथा नियमित प्राविधिक परीक्षण अनिवार्य मानिन्छ । यो सवै मापदण्ड विपरीत नै जिल्लाका अधिकांश विद्यालय सवारी संचलनमा रहेको छ ।

कतिपय विद्यालयले पुराना तथा जीर्ण बस सञ्चालन गरिरहेका छ भने कतिपयले तोकिएको क्षमताभन्दा बढी विद्यार्थी कोचेर जोखिमपूर्ण ढंगले ओसारपसार गरिरहेका छन् । केही विद्यालयहरुले सामान ढुवानीका लागि दर्ता भएका पिकअप गाडीमै बालबालिका राखेर दैनिक आवतजावत गर्ने गरेको छ । सिरहाका युवा नेता अरबिन्द्र यादवले विद्यालय सवारीको विषयलाई बालबालिकाको सुरक्षासँग जोडिएको संवेदनशील विषय भन्दै सम्बन्धित निकायको मौनतामाथि गम्भीर रुपमा प्रश्न उठाएका छन् । “निर्देशिका विपरीत स्कुल बस सञ्चालन भइरहँदा स्थानीय तह, जिल्ला प्रशासन, शिक्षा विकास तथा समन्वय इकाइ, ट्राफिक प्रहरी, प्याब्सन र एनप्याब्सन किन मौन छन् ?” उनले प्रश्न गरे, “भोलि कुनै दुर्घटना भयो भने यसको जिम्मेवारी कसले लिने ?”

ट्राफिक प्रहरीको भूमिकामाथि स्थानीयवासीले प्रश्न उठाएका छन् । सर्वसाधारणका सवारीसाधनमाथि नियमित चेकजाँच गर्ने ट्राफिक प्रहरी विद्यालय सवारीको हकमा भने उदासीन देखिुन अर्थपूर्ण रहेको छ । निर्देशिका विपरीत सवारी सञ्चालन गर्ने विद्यालयबाट मासिक रूपमा ‘आर्थिक सहयोग’ ट्राफिक प्रहरीले लिने गरेकोले नै मौनता कायम राखेको स्थानीयवासीको आरोप छ । यसबारे ट्राफिक प्रहरीले औपचारिक प्रतिक्रिया दिएको छैन ।

यता प्याब्सन सिरहाका अध्यक्ष उमेश चौधरीले विद्यालय सवारी सञ्चालनमा सुरक्षा मापदण्ड अनिवार्य रूपमा पालना हुनुपर्ने बताएका छन् । “निर्देशिका विपरीत कुनै पनि विद्यालयले बस सञ्चालन गर्नु हुँदैन,” उनले भने, “सामान ढुवानी गर्ने पिकअपमा बालबालिका ओसारपसार गर्नु झन् गम्भीर अपराध हो ।”

ट्राफिक प्रहरी, स्थानीय तह र सम्बन्धित सरोकारवाला निकायलाई विद्यालय सवारीको नियमित अनुगमन गर्न अध्यक्ष चौधरीले आग्रह गर्दै संस्थागत विद्यालय सञ्चालकलाई पनि मापदण्ड विपरीतका सवारी प्रयोग नगर्न सचेत गराइएको बताएका छन् । बालअधिकारकर्मीहरूका अनुसार विद्यालय सवारीको लापरवाही प्रशासनिक रुपमा उदासिनता भएको बताएका छन् । बालबालिकाको जीवन र सुरक्षासँग जोडिएको विषयमा वेवास्ता गर्न नहुने उनीहरुको भनाई रहेको छ । विद्यालयले शिक्षासँगै सुरक्षा सुनिश्चित गर्नुपर्ने दायित्व पनि वहन गर्नुपर्छ । बालबालिकाको हितलाई ध्यानमा राख्दै विद्यालयहरुले स्कूल बस संचालनमा ल्याउनुपर्ने हुन्छ । जिल्लाका हरेक स्थानीय तहमा संस्थागत विद्यालयहरुले संचालनमा राखेको विद्यार्थी ओसारोसार गर्ने बसको निगरानी गर्नु स्थानीय युवा जितेन्द्र यादवले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय