काठमाडौं- अर्थतन्त्रमा कर्जा माग कमजोर हुँदा बैंक तथा वित्तीय संस्थाले लगानी गर्न नसकेको ठूलो रकम नेपाल राष्ट्र बैंकमा राख्ने क्रम बढेको छ ।
पछिल्लो तथ्यांकअनुसार बैंकहरूले करिब ९ खर्ब ७४ अर्ब रुपैयाँ राष्ट्र बैंकमा निक्षेप संकलन र ऋणपत्रमार्फत राखेका छन् । बैंकिङ प्रणालीमा अहिले पनि पौने १३ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम उपलब्ध रहेको देखिएको छ ।

हाल बैंकिङ प्रणालीमा कुल निक्षेप ७९ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ५८ खर्ब ७४ अर्ब रुपैयाँमा सीमित छ । बैंकहरूले निक्षेपको करिब ७३ प्रतिशत मात्रै कर्जा लगानी गरेका छन् ।
तरलता पर्याप्त भए पनि उद्योग, व्यवसाय र बजारमा कर्जा माग कमजोर हुँदा बैंकहरूले अतिरिक्त रकम राष्ट्र बैंकमा न्यून ब्याजदरमा राखिरहेका छन् । यसले अर्थतन्त्रमा माग पक्ष अझै सुस्त रहेको संकेत गरेको छ ।



