काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले लुटतन्त्रबाट मुलुकलाई बाहिर निकाल्न काम गरिरहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वाग्लेले हालसम्म देशमा सीमित व्यक्ति, संस्थाको हातमा हैकम, भनसुन र आफन्तवादबाट लुट मच्चिरहेको तर रास्वपा सरकारले यसको अन्त्य गर्न लागेको बताएका हुन् ।

राजनीतिको केन्द्र मात्र नभएर निजीक्षेत्रमा समेत यस्तो लुटतन्त्रमा संलग्न देखिए सरकारले निर्मम भएर कारबाही गर्ने बताए । उनले भने, ‘कार्टेलिङ, विकृति, हस्तक्षेप र नियन्त्रणलाई सरकारले निर्मम भएर तोड्ने काम गर्छ ।’ तथापि, सरकारले निजीक्षेत्रको महत्त्व राम्रैसँग बुझेको उनले बताए ।
सोही अवसरमा अर्थमन्त्री वाग्लेले रास्वपा सरकार आफ्नो वाचापत्रमा लिखित प्रतिबद्धताअनुसार नै चल्ने बताए ।
‘वाचापत्रमा उल्लेख गरेका हरेक शब्द कार्यान्वयन हुन्छ । वाचापत्रको १ देखि १९ बुँदासम्म सुशासनका मुद्दाहरू समेटिएका छन् । यसमध्येका केही बुँदा कार्यान्वयनमा समेत गइसकेको छ’, वाग्लेले भने, ‘१९–४० अर्थतन्त्रका बारेमा लेखेको छ । सोही कार्यान्वयन हुन्छ । हाम्रो भिजन स्पष्ट छ, सबैले सरकारको योजना लक्ष्य, उद्देश्य के हो सहजै बुझ्न सक्छ । सामाजिक न्याय, निजीक्षेत्रको उत्थान, स्वतन्त्र बजारलाई सरकारले प्राथमिकतामा राखेको छ । राजस्व नघट्ने गरी राजस्वको दायरा बढाउने प्रतिबद्धता गरेका छौँ । आश्चर्य हुनु पर्दैन, लिखित प्रतिबद्धताअनुसार नै हामी काम गर्छौं’, अर्थमन्त्री वाग्लेले भने ।
वाचापत्रमा रास्वपाले राजस्व अनुसन्धान विभाग खारेज गर्ने उल्लेख गरेकोमा सरकार गठनलगत्तै आफूले १० मिनेटभित्रै सो विभाग खारेज गरिदिएको अर्थमन्त्री वाग्लेले बताए ।



